|

म्याग्दी : आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस। नेपालमा विविध कार्यक्रमका साथ  औपचारिक रुपमा १९औँ धान दिवस मनाइँदै  छ।

नेपाल सरकारको विसं २०६१  मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणले प्रत्येक वर्षको असार १५लाई धान दिवस मनाउने निर्णय गरेपछि जनस्तरमासमेत स्थानीय कृषि सहकारी संस्था तथा अन्य समूहले पनि औपचारिक रुपले धान दिवस मनाउँदै आएका छन्।

नेपालको प्रमुख बाली धान

धान नेपालीहरुका लागि केवल खाद्यान्न मात्र नभएर यसको महत्व  धर्म र  नेपाली संस्कृतिसँग पनि जोडिएको छ।

धान विश्वको मकै पछिको दोस्रो महत्वपूर्ण खाद्यान्न बाली हो। यो विश्वको करिब ३.५ अरब जनसंख्याको लागि आधारभूत खाद्यवस्तु एवं शरिरलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख स्रोत भएको कृषि वैज्ञानिकहरुको भनाइरहेको छ।

विश्वमा करिब १६ करोड ४१ लाख ९० हजार हेक्टरमा खेती भई ७५ करोड ५४ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको अन्तर्राष्ट्रि कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीले जानकारी दिए।

डा. कार्कीका अनुसार कुल उत्पादनमध्ये ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरुमा हुने गरेको छ। उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ र त्यसपछि क्रमशः भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरु हुन् भने नेपाल १६औं स्थानमा पर्ने उनको भनाइ छ।

धान नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्वपूर्ण बाली हो। नेपाली समाजका हरेक सामाजिक एवम् सांस्कृतिक कार्यहरुमा धानकै प्रधान्यता रहने हुँदा नेपाली समाजमा धान अभिन्न  रुपमा स्थापित भइसकेको बताइन्छ।

धान हाम्रो खाद्यान्न मात्र नभएर संस्कृतिको धरोहर पनि हो। समुद्री सतहबाट तराईमा ६० मिटर देखि संसारको सवैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३,०५० मिटर उचाइसम्म धानको खेती गरिने कृषि विभागमा महानिर्देशक रेवतीरमण पौडेलको भनाइ छ।

 नेपालमा मौसमको आधारमा वर्षे धान,चैते धान,  भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान) को रुपमा धान खेती हुने गर्दछ। नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७.७ प्रतिशत जमिनमा धान खेती गरिन्छ जस मध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा वढी रहेको कृषि विभागको तथ्याङ्कमा उल्लेख छ।

अन्नबाली उत्पादनको कुल क्षेत्रफलको करीब ४५  प्रतिशतमा धान खेती हुने गरेको र कूल अन्नबाली उत्पादनमा ५० प्रतिशतभन्दा बढी धानको हिस्सा रहेको तथ्याङ्कमा देखाइएको छ।

क्षेत्रफल बढ्दै, उत्पादन घट्दै

नेपालमा बार्षिक करिब २ खर्ब रुपैयाँ बराबरको धान तथा यसका उप–उत्पादनहरु प्राप्त हुने कृषि वैज्ञानिका डा. कार्कीले बताए। मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करीब २५ प्रतिशत अंश कृषिको रहेकोमा धानको कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत योगदान रहेको तथ्यले धानले नेपालीको खाद्य तथा पोषण सुरक्षाको सुनिश्चिता कायम गराउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ।

आब २०७८÷०७९ मा १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भई ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिए।

उनका अनुसार अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल ०.२६ प्रतिशतले वृद्धि भए तापनि उत्पादन भने ८.७४ प्रतिशतले घटेको छ। यसरी क्षेत्रफल बढेता पनि उत्पादन घट्नुमा २०७८ असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको बेमौसमी बर्षाले धान थन्क्याउने बेलामा खास गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कन्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा पारेको क्षति मुख्य कारण रहेको उनको भनाइ छ।

विगतका वर्षहरुदेखि नै धान बालीमा अनुसन्धान र विकास, सिंचाई सुविधा विस्तार, मसिना धान प्रवर्द्धन, हिउँदे र चैते धान प्रवर्द्धन, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार, सार्वजनिक वितरण प्रणालीमा सुधार, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन, बाली बीमाको प्रवर्द्धन, जलवायु मैत्री प्रविधिको विकास, धान उत्पादन तथा बजारीकरणमा निजी तथा सहकारी क्षेत्रको संलग्नता, बाँझो जमिनको सदुपयोग जस्ता कार्यक्रमहरु सन्चालन हुँदै आएको कृषि विभागका महानिर्देशक पौडेलले जानकारी दिए।

धानका विभिन्न प्रजाति

उत्पादन वृद्धिका लागि उन्नत जातको प्रयोगलाई वढवा दिन हालसम्म नेपालमा तराई, मध्य पहाड र उच्च पहाडको लागि सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड गरी ८ वटा स्थानीय र रैथाने जात सहित जम्मा १४४ वटा धानका जातहरु सिफारिस भैसकेका जनाइएको छ।

त्यसैगरी बर्णशंकर जातको बढ्दो मागलाई सम्बोधन गर्न २ वटा स्वदेशी हाइव्रिड धानका जातहरु सूचित भई कृषकमाझ उपलब्ध रहेका कृषि विभागले जनाएको छ। त्यसैगरी सुख्खा तथा अर्धसिंचित अवस्थालाई मध्यनजर राखी डुवान तथा सुख्खा सहन गर्न सक्ने केही धानका जातहरु समेत विकास भई कृषकहरु माझ लोकप्रिय भएका छन्। उन्नत बीउ विजनको मात्र प्रयोगले १५ देखि २० प्रतिशत उत्पादकत्व वृद्धि गर्न सकिने नेपालका कृषि वैज्ञानिक तथा कृषि अनुसन्धानकर्ताहरुको राय रहेको छ।

उनीहरुको यही रायलाई मध्यनजर गर्दै धानको स्रोत बीउ र उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान तथा उन्नत बीउ प्रयोगकर्तामा मूल्य अनुदान कार्यक्रम  कार्यान्वयनमा ल्याइएको कृषि विभागले जनाएको छ।

चालु आर्थिक वर्षमा सर्शत वित्तिय हस्तान्तरणमा धान उत्पादनको प्रचुर संभावना बोकेका प्रमख क्षेत्रहरु र नेपाल सरकारबाट निर्मित साना, मझौला तथा ठूला सिंचाई आयोजनाहरुको कमाण्ड क्षेत्र भित्र पर्ने ५९ वटा स्थानीय तहहरु मार्फत धान उत्पादन प्रवर्द्धन कार्यक्रम संचालनमा रहेकोमा आगामी आर्थिक वर्षमा ६८ वटा स्थानीय तहहरु र ७ वटै प्रदेशका कृषिसंग सम्बन्धित प्रादेशिक मन्त्रालयहरु मार्फत सो कार्यक्रमलाई निरन्तरता दिइएको कृषि विभागले जनाएको छ।

अन्य बालीमा जस्तै धानबालीमा पनि बीमाको व्यवस्था गर्दै ८० प्रतिशत प्रिमियम सरकारले नै उपलब्ध गराउने व्यवस्था मिलाइएको विभागका निर्देशक पौडेलले बताए।

चामल आयातमै जान्छ ठूलो रकम

हाल नेपालमा कूल ४० लाख मेट्रिक टन चामलको माग रहेकोमा स्वदेशी उत्पादनबाट  ३४ लाख मेट्रिक टन मात्र उपलब्ध हुने भएकाले  करीब ६ लाख मेट्रिक टन चामल आयातका लागि करिब ३० अर्ब भन्दा बढी रकम खर्चिनु परेको अवस्था रहेको कृषि वैज्ञानिक कार्कीले बताए।

स्वदेशी माटोमा प्रयाप्त परिमाणमा उत्पादन नभई धान चामलमा परनिर्भरता हुनुमा बढ्दो जनसख्या बृद्धिको तुलनामा धान उत्पादनको बृद्धि दर कम हुनु, खेतीयोग्य जमिन खण्डिकरण तथा घडेरिकरण, श्रम शक्तिको अभाव, सिंचाई, भण्डारण तथा बजार पूर्वाधार प्रयाप्त नुहुनु आदि प्रमुख कारणहरु भएका उनको भनाइ छ।

म्याग्दीमा के छ अवस्था?

म्याग्दीमा हाल ३ हजार ९२५ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ। यहाँ  १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। धान खेति गरेको मध्ये १२ प्रतिशत जमिनमा मात्र उन्नत जातको गुणस्तरीय बिउको प्रयोग भैरहेको छ।

यसो हुनुमा गुणस्तरीय बिउको अभाव तथा नयाँ र उच्च उत्पादन दिने जात भन्दा पुरानै जातहरु कृषकको रोजाइमा पर्नु,  बीउ तथा जात फेर्ने परिपाटिको विकास

नहुनु,  मसिना तथा वासनादार चामलको उपयोगमा वृद्धि तथा खाद्यान्न बालीको उपयोगमा विविधिकरण नुहुनु, आयातीत धानको गुणस्तर र मूल्यमा स्वदेशी धानले प्रतिस्पर्धा गर्न नसक्नु जस्ता कारणहरु रहेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.