|

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त राष्ट्रसंघीय दातृ निकायहरूलाई समाजले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमहरुमा लगानी गर्न आग्रह गरेका छन्।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय दिगो विकास कार्यढाँचा २०२३–२०२७ को तर्जुमा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रममा मुख्यमन्त्री राउतले सभा गोष्ठीमा मात्र सीमित हुने खालका कार्यक्रम भन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने जस्ता कार्यक्रमहरु तर्जुमा गर्न आग्रह गरे।

मुख्यमन्त्री राउतले मानवीय विकास सूचकांकमा पछि परेका मधेश प्रदेशको आवश्यकतालाई पहिचान गरी गरिब, दलित, महिला, मुस्लिम जस्ता लक्षित वर्गको कार्यक्रमहरु समेट्नु पर्नेमा समेत जोड दिए।

कोरोना महामारीताका संयुक्त राष्ट्रसंघीय निकायहरुले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले छोरीहरुको शिक्षाका लागि प्रदेश सरकारले संचालन गर्दै आएको कार्यक्रममा भौतिक सहयोग सहितको कार्यक्रम ल्याउन सुझाव  समेत दिए।

विभिन्न क्षेत्रमा आ–आफनै पाराले काम गरिरहेका गैर सरकारी संस्थाहरुलाई एउटै छातामुनि ल्याउन प्रदेश सरकारले पहल गरिरहेको बोल्दै मुख्यमन्त्री राउतले महिला बालबालिका मन्त्रालयमा एउटा छुट्टै शाखा राखेर एकीकृत योजना ल्याउनु पर्ने जिकिर गरे।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका विभिन्न निकायका प्रमुख तथा पदाधिकारीहरु, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरू सहितको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.