|

कञ्चनपुर : बेदकोट नगरपालिका ५ धर्मपुरका अति विपन्न भूमिहीन परिवारलाई आज राहत सामग्री वितरण गरिएको छ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गत हेविटाट् नेपालको संयुक्त साझेदारीमा सञ्चालित मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमका लागि छनौट गरिएका अति विपन्न २५ परिवारलाई खाद्य तथा गैरखाद्य सामग्री वितरण गरिएको हो।

मेट लाइफ फाउण्डेशनको ‘खाद्यान्नका लागि आवास’ कार्यक्रम अन्तर्गत अति विपन्न अवस्थाका परिवारलाई जीरा मसिनो चामल ३० किलो, मुसुरोको दाल चार किलो, आयोडिनयुक्त नुन दुई प्याकेट, रिफाईन तेल तीन लिटर, चिनी दुई किलो, सोयाविन दुई किलो, आलु पाँच किलो, डिटोल साबुन छ गोटाका दरले वितरण गरिएको छ।

यसैगरी विपन्न परिवारलाई राहत सामग्रीसँगै काइँयो, टूथपेष्ट, ब्रस, सेनेटरी प्याड, मास्क, प्लाष्टिक बाल्टी समेत वितरण गरिएको छ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका नापी अधिकृत धर्मराज ओझा, हेविटाट्का पश्चिम फिल्ड कार्यालयका परियोजना प्रमुख पुनिता चौधरी, मेटलाईफ फाउन्डेसनका जनकराज जोशी, राष्ट्रिय मुक्ति हलिया समाजका अध्यक्ष शिवी लुहार, आरडीएनका अध्यक्ष मोहन ओड, पूर्व वडा अध्यक्ष गणेश विक लगायतले राहत सामग्री वितरण गरेका छन्।

राहत वितरण कार्यक्रममा बोल्दै मन्त्रालयका नापी अधिकृत ओझाले मुख्यमन्त्री सुरक्षित आवास निर्माणको कार्य चालु आवको एक महिना भित्रै पूरा हुने बताए। 
ठेकेदार कम्पनीको लापरबाहीका कारण आवास निर्माणको कार्यमा विलम्ब भैरहेको उल्लेख गर्दै उनले छिटो भन्दा छिटो आवास निर्माणकार्य सम्पन्न गरी विपन्न भूमिहीन परिवारलाई हस्तान्तरण गरिने बताए।

कार्यक्रम अन्तर्गत धर्मपुरमा अति विपन्न परिवारका लागि २५ वटा घर निर्माण भैरहेका छन्। परियोजना प्रमुख चौधरीले आवास निर्माणको कार्यलाई पूरा गराउनका लागि कार्य अगाडि बढिरहेको बताए। वर्षाका बेला अति विपन्न परिवारलाई खाद्यान्नको अभाव नहोस भनेर केही दिनका लागि पुग्ने गरी खाद्यान्न लगायतका सामग्री वितरण गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.