विद्यार्थीलाई अध्ययन र अनुसन्धान गर्न समस्या

|

काठमाडौं : खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन गराउन खुलेको हो खुला विश्वविद्यालय। सरकारले ‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३’ पारित गरेसँगै विश्वविद्यालय विधिवत रुपमा स्थापना भएको थियो।

विश्वविद्यालयले शैक्षिक कार्यक्रम भने २०७४ जेठ ३० देखि सञ्चालन गरेको थियो। ऐनको दफा (३) को उपदफा (१) मा उल्लेख छ, ‘खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने‚ गराउने काम समेतको लागि नेपाल खुला विश्वविद्यालय स्थापना गरिएको छ।’

तर अहिले यो विश्वविद्यालयको बिजोग छ। एक वर्षभन्दा बढी समयदेखि डिनविहीन बनेकाे छ। विश्वविद्यालयका पदाधिकारीहरूमा कुलपति, उपकुलपति, कुल सचिव, डिन, निर्देशक र तोकिएको बमोजिमका अन्य पदाधिकारी रहने व्यवस्था ऐनमा छ।

शिक्षाविद् भन्छन् : कि दलीय हस्तक्षेप नगर, कि विश्वविद्यालय बन्द गर

शिक्षाविद् प्राडा मनप्रसाद वाग्ले दलीय राजनीतिको शिकार विश्वविद्यालय हुनु उच्च शिक्षामा अत्यन्तै घिनलाग्दो काम भएको बताउँछन्। उनका अनुसार खुला विश्वविद्यालय डिनविहीन बनेको एक वर्षभन्दा बढी भइसक्यो तर डिन नियुक्त हुन सकेको छैन।

‘यो अधिकार उपकुलपतिको हो र कार्यकारी परिषदले तुरुन्तै निर्णय गर्न सक्छ। त्यसैले डिन नियुक्ति नहुनुमा उपकुलपतिले आँट गर्न सकेनन् कि त शिक्षामन्त्रीले अड्काएको हुनसक्छ, योबाहेक अरु विकल्प छैन,’ उनी ठोकुवा गर्छन्।

उनले उक्त विश्वविद्यालयमा प्राज्ञिक परिषदसमेत नरहेको ६ महिना भइसक्दा पनि हालसम्म केही हुन नसकेको बताए। उनका अनुसार विश्वविद्यालय भनेको प्राज्ञिक थलो हो। सबै शिक्षण कार्यक्रमको निर्णय प्राज्ञिक परिषदले गर्छ।

‘तर विश्वविद्यालय प्राज्ञिक परिषदविहीन छ, विश्वविद्यालयको यस्ताे गाईजात्रा यहाँबाहेक अरु ठाउँमा कहाँ छ होला?,’ उनले प्रश्न गरे। दलीय भागबन्डा नमिलेकै कारण अहिलेसम्म डिन नियुक्त नभएको उनकाे भनाइ छ।

‘अझै पनि विश्वविद्यालयका कुलपति र सह-कुलपतिको आँखा नखुल्नु भनेको विश्वविद्यालयका पदाधिकारीका लागि आफू-आफू कुर्सीकाे लडाइँमा व्यस्त भएको बुझिन्छ,’ उनले भने, ‘नभए निमित्त डिन दिएर चलाउन सकिन्थ्यो।’

पछिल्लो समय अधिकांश विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदैशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार दैनिक ९ सय जनासम्मले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिने गरेका छन्।

यसैगरि नेपालको उच्च शिक्षा ध्वस्त हुँदै गए अध्ययनका लागि विदेशिनेको विद्यार्थी संख्या झनै बढ्ने शिक्षाविद् वाग्ले अनुमान गर्छन्। ‘कि दलीय हस्तक्षेप नगर, गर्ने भए विश्वविद्यालय बन्द गर। यो खुला विश्वविद्यालय मात्र होइन यहाँ ११ वटा विश्वविद्यालय छन्, सबै बन्द गरे हुन्छ,’ उनले भने।

डिन नहुँदा सबै लथालिङ्ग 

विश्वविद्यालयमा हालसम्म पनि डिन नियुक्त नहुँदा अध्ययनदेखि विभिन्न विषयको अनुसन्धान गर्नमा समेत समस्या भएको विद्यार्थीको गुनासो छ। ‘डिनको क्षेत्र अधिकार धेरै छ‚ ती क्षेत्राधिकारका सेवा ठप्प छ। नियमित कक्षामै समस्या परिरहेको छ, अनुसन्धानमा अफ्ठ्यारो छ, परीक्षामा समस्या हुन्छ,’ त्यहाँ अध्ययनरत एक विद्यार्थीले भने।

ती विद्यार्थीका अनुसार फ्याकल्टी अफ साइन्स, एजुकेसन र म्यानेजमेन्ट छ। यी सबै विभागको डिन खाली छ। तर पूर्ति गर्न सरकार र विश्वविद्यालयले चासो देखाएको छैन।

‘विश्वविद्यालयको आफ्नो भवन छैन,’ उनले भने, ‘नयाँ बनाउने भने पनि काम अगाडि बढेको छैन। शिक्षक कर्मचारीका लागि दुई पटक विज्ञापन निकाल्दा पनि रद्द भएको अवस्था छ, यस्ता धेरै आन्तरिक समस्या छन्।’

शिक्षाविद् वाग्ले यस्ता बेवास्ता र लथालिंग तालले विद्यार्थीमा नकारात्मक असर पर्ने बताए। उनी भन्छन्, ‘यस्ता बेथितिले विश्वविद्यालयमा भर्ना संख्यासमेत घटेको छ। डिन नहुँदा समयमा काम बन्दैन, रिसर्च कमिटीले काम गरेको छैन।’

ललितपुरको मानभवनमा रहेकाे विश्वविद्यालयका अनुसार उक्त विश्वविद्यालयमा घरैमा बसेर वा पढाइ हुने ठाउँभन्दा टाढाबाट शिक्षा प्राप्त गर्न सकिन्छ। त्यसैले यसलाई दूर शिक्षा भनिन्छ। यसमा पत्राचार, श्रव्य र श्रव्यदृश्य प्रविधिमा आधारित माध्यमबाट शिक्षा दिइन्छ। 

यसो भन्छ शिक्षा मन्त्रालय

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले डिन छनोट गरेर नियुक्त गर्ने अधिकार विश्वविद्यालयका उपकुलपतिको रहेको बताए। उपकुलपतिले राख्न सकेनन् भने मात्र शिक्षामन्त्रीबाट निर्णय गर्न सकिने उनको भनाइ छ।

‘यसका लागि उपकुलपति जिम्मेवार हो, उपकुलपतिले राख्न नसक्ने केही कारण भएमा भने शिक्षामन्त्रीलाई भन्ने हो,’ उनले भने। विश्वविद्यालयबाट यसका लागि जानकारी आएमा मन्त्रालयबाट समस्या समाधान गर्ने तथा समन्वय गर्ने उनले बताए।

यता, विश्वविद्यालयका उपकुलपति प्राडा शिलु मानन्धर बज्राचार्य र रजिष्ट्रार गोविन्दसिंह विष्टलाई यस विषयमा बुझ्न पटक-पटक फोन सम्पर्क गर्दा पनि फोन उठाएनन्।

 (यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.