|

जनकपुरधाम : मधेश प्रदेश सरकारले मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९ स्वीकृत गरेको छ।

मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा प्रस्तुत दुबै कार्यविधि प्रदेश सरकार मन्त्रिपरिषद्को  बैठकले स्वीकृत गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए।

मन्त्रिपरिषद्बाट दुबै कार्यविधि पारित भएसँगै अब मधेश प्रदेशमा सञ्चालित पत्रपत्रिका, एफ.एम. र रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमले मधेश प्रदेश सरकारको लोकहितका विज्ञापन एवम् सूचना प्राप्त गर्नेछन्।

त्यस्ता विज्ञापन एवम् सूचना सञ्चारमाध्यमहरूले प्रकाशनरप्रशारण गरे बापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिए बमोजिम भुक्तानी उपलब्ध गराइने मन्त्री साहले जानकारी दिए।

त्यसैगरी मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत भएपछि मधेश प्रदेशका जुनसुकै जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारहरू बीमा कार्यक्रमबाट लाभ लिने बाटो खुलेको हो।

बीमा कार्यक्रममा सहभागी पत्रकारले वर्षमा एकपटक एक लाख रुपैयाँसम्मको औषधि उपचार खर्च पाउने र सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्राप्त गर्ने कार्यविधिमा व्यवस्था गरिएको मन्त्री साहले बताए।

सरकारले कार्यविधि स्वीकृत गरेपछि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने र पत्रकारहरूको बीमा गराउने कार्य चालू आर्थिक वर्षदेखि लागू गर्ने तयारी थालिएको आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बताए।

गत असार ८ गते दुबै कार्यविधि स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.