|

विराटनगर :  प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ।

प्रदेशसभाको आज (आइतबार) बसेको बैठकले विधेयक पारित गरेको हो। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो। बजेटमा सडक, पूर्वाधार तथा शहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रूपैयाँ खर्च कटौतीको प्रस्ताव सदनमा पेश गरेका थिए। सांसद न्यौपानेले राखेको प्रस्ताव अस्वीकृत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राखेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले नै पारित भएको हो।

सरकारद्वारा प्रदेशसभामा विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारका तर्फबाट मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले दिएका थिए।

सरकारको जवाफपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराउन आज १२ बजेसम्मको लागि सभामुख प्रदीपकुमार भण्डारीले समय दिएका थिए। शनिबारको संसद बैठक झण्डै ५ घण्टा लामो चलेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.