|

इलाम : सुहाङ नेम्वाङ इलाम–२ मा प्रतिद्वन्द्वीलाई पाँच हजार ८३० मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। २०७९ सालको आमनिर्वाचनमा सुवास नेम्वाङसँग ११४ मतले पराजित बनेका डम्बर खड्का अहिले छोरा सुहाङसँग फराकिलो मतान्तरले हारे। 

३४ वर्षीय सुहाङ संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र विशाल नेम्वाङका कान्छा सुपुत्र हुन्। भदौ २५ गते सुवासको निधनपछि एमालेले इलाम-२ मा विरासत जोगाउने अभिभारा सुहाङलाई सुम्पिएको थियो।  

कानूनमा बिएएलएल गरेका उनी खेलकुद वृत्तमा स्र्पोटिङ इलाम एफसी डी मेचीको अध्यक्ष छन्। बुबा राजनीतिमा पूर्णकालीन भएकाले त्यसको रूपरङ र कम्युनिष्ट शब्दावलीसँग पनि परिचित र अन्तरघुलन हुने सानैबाट मौका पाए। ३४ वर्षीय सुहाङको परिवारमा कानूनको तीनपुस्ते साइनो छ। हजुरबुवा रामबहादुर नेम्वाङ इलाम जिल्ला अदालतका न्यायाधीश थिए। 

पुर्ख्यौली थलो इलाम नगरपालिका–७ सुन्तलाबारी भए पनि सुहाङ काठमाडौंमा हुर्किए। निम्न माध्यमिक तहसम्मको शिक्षा ग्यालेक्सी पब्लिक स्कुलबाट पूरा गरे। माध्यमिक तहको शिक्षा जगत मन्दिरबाट सके। १२ कक्षासम्मको शिक्षाका लागि ज्ञानोदय बालबालिटा रोजे। त्यसपछि उनको कानूनी शिक्षाको यात्रा शुरु भयो। काठमाडौं स्कुल अफ ल मा बिएएलएल सकेपछि वकालतीको बाटो खुला भयो। 

राजनीतिक परिवारमा हुकिएपछि घरमा प्रायजसो हुने राजनीतिक छलफल र बहसलाई उनले नजिकैबाट नियाल्ने मौका पाए। समय मिल्नासाथ बुबासँग नेपाली राजनीतिक घटनाक्रम र परिर्वतनको बारेमा छलफलमा जुट्ने गरेका थिए। बाल्यकालबाटै कम्युनिष्ट पृष्ठभूमिमा हुर्किए पनि २०६८ सालमा नेकपा एमालेको सदस्यता लिएका हुन्। 

प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा इलामका पाखापखेरा डुल्दा त्यहाँका विषमताबारे उनी परिचित बनेका थिए। सुहाङले टिकट पाएसँगै कतिपयले राजतन्त्रको अवशेष भन्दै आलोचना समेत गरेका छन्। यसलाई चिर्दै आफूलाई सक्षम उम्मेदवारको रूपमा जनमत जित्नु सुहाङको लागि चुनौती थियो। 

सुवास नेम्वाङलाई २४ वर्ष लगातार सांसद बनाएको इलाम–२ मा कम्युनिष्ट विरासत जोगाउन चुनौती देखिएको थियो। बाबुसँग ११४ मतले मात्र हारेका उम्मेदवारविरुद्ध जित्न सुरुवातमा सुहाङलाई सहज नहुने देखिएको थियो। त्यसमाथि पनि पहिचानको मुद्दा कोशी प्रदेशमा पेचिलो बनिरहेको अवस्थामा एमालेको मत धेरै काटिने आँकलन गरिएको थियो। अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले समेत प्रभाव पार्ने अनुमानलाई गलत सावित गरिदिए। नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र परिवार दलको साथ पाएपछि उनले सहजरूपमा कांग्रेस, पहिचानवादी र रास्वपाका उम्मेदवारलाई हराए। 

उनको जितको आधार भनेको बलियो पार्टी संगठन नै हो। अघिल्लो निर्वाचनमा समेत नेकपा एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत पाएका थिए। यो पटक माओवादीको ५ हजार १०० मतको साथ सुहाङले पाए। पहिचानवादीले केही मत प्रभावित पारे पनि सुहाङको जितमा असर नपुगेको देखिन्छ। 

इलाम र त्यहाँको युवा पंक्तिसँग जोडिन उनले स्पोर्टिङ इलाम फुटबल क्लब स्थापना गरेका छन्। इलाममा असोज देखि चैतसम्म फुटबलको माहोल हुन्छ। सुहाङ बुबाको निधनलगत्तै गोल्डकप र टोलकपमा पुगेर खेलाडीको हौसला बढाइरहेका थिए।

सुहाङ ७ महिनादेखि इलाम-२ का भूभागमा पुगिरहेका थिए। उनी बुबा सुवाचन्द्र झै वाकपटुताका लागि माहिर छन्। नम्र स्वभावका कारण चाँडै मतदातालाई रिझाउन सक्ने खुबी उनीमा छ, जसका कारण मत आफ्नो पक्षमा पार्न सफल भएको बताइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.