फर्केर आउने हो भने बाबुरामलाई स्वागत गर्न तयार छौँ

|

काठमाडौं : महाधिवेशनको ६ महिनापछि नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदाधिकारी टुंगाउने जिम्मेवारी दिएको छ। आइतबार सुरु भएको माओवादीको केन्द्रीय कमिटी बैठकमा बैठक लम्ब्याएरै भए पनि पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो टुंग्याउनुपर्ने माग उठेपछि मंगलबार अध्यक्षलाई नै जिम्मेवारी दिएर अघि बढ्नेगरी सहमति भएको हो।

बैठक नै स्थगन गरेर अध्यक्षको खल्तीबाट पदाधिकारी चयन गर्नुपर्ने स्थिति किन आयो? चौतर्फी विरोध हुँदासमेत अर्थमन्त्री जनार्दन शर्मालाई सरकारबाट फिर्ता नबोलाउने हो ? लगायतका विषयमा केन्द्रित भएर थाहाकर्मी जगत भण्डारीले नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्य एवं राष्ट्रिय सभा सांसद दीनानाथ शर्मासँग गरेको कुराकानी—  

केन्द्रीय कमिटी बैठक अकस्मात् स्थगन गर्नुपर्ने अवस्था किन आयो?

अकस्मात् गरेको होइन। आइतबार केन्द्रीय समितिका सदस्यले पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारी टुंग्याएर लैजानुपर्छ भनेर जोड दिएपछि त्यसलाई गम्भीरताका रूपमा लिएर हामी आन्तरिक छलफलमा जुटेका हौँ। साथीहरूका प्रश्नको ठोस निष्कर्षमा पुग्नका लागि ‘होमवर्क’ गर्नुपर्ने भएकाले बैठक स्थगन गरेका हौँ।  

पदाधिकारी चयनमा यति अन्योल किन?

चुनावलगायतका कारण यस विषयमा हामी प्रवेश नै गरेका थिएनौँ। यति महत्त्वपूर्ण विषय भएकाले राम्रै गृहकार्य गरेर मात्र विषय टुंग्याउनुपर्छ भनेर हो। यसबीचमा हामीले पार्टीमा थुप्रै साथीहरूलाई प्रवेश गराउने काम पनि गर्‍यौँ। त्यस कारण पनि अलि ढिलाइ भएको हो। बाहिर माओवादीले गर्न सकेन भन्ने भ्रम फैलाइयो। तर भित्र हामीले पूर्वमाओवादीलाई एकजुट बनाउन प्रयास गर्‍यौँ। 

महाधिवेशनको ६ महिनासम्म लम्बाउनुपर्ने विषय हो र पदाधिकारी चयन?

पार्टीभित्रका अनेकन कारणले हामीले यो गर्न सकेनौँ। बाहिर टिकाटिप्पणी जे भए पनि हामीले पार्टीलाई बलियो बनाउन, आफ्नै शैलीमा काम गरेका हौँ। 

पार्टीको औपचारिक बैठक स्थगन गरेर दिनभर खुमलटारमा छलफल गरेर अध्यक्षलाई थप बलियो बनाउन खोजेको हो?

केन्द्रीय समितिमा कसले पेश गरिदिन्छ त नाम? आफै–आफैँ म हुन्छ तँ हुनुहुँदैन भन्ने हो त। पार्टीको महाधिवेशनले एउटा विधि बनाएको छ। विधान छ। त्यसको परिधिभित्र रहेर गृहकार्य गर्ने हुन्छ। अनि त्यसलाई पूर्णता दिनुपर्ने हुन्छ। 

एमालेको महाधिवेशनका वेला अध्यक्ष केपी ओलीले खल्तीबाट पदाधिकारी ल्याए भनेर खुब आलोचना गर्नुभयो। अहिले आफूहरूले फेरि त्यही प्रवृत्ति दोहोर्‍याउनु भयो हैन?

खल्तीबाट गर्ने भए त त्यतिवेलै महाधिवेशनकै बेला टुंगिसक्यो नि! त्यो छुट हाम्रो अध्यक्षलाई छैन। हामीले छलफल गर्नुपर्छ भनेर अहिलेसम्म आएको त हो। नयाँ आउनेको मनोविज्ञान बुझ्नुपर्छ। सबैलाई समेट्ने गरी परिपक्व काम गर्नुपर्छ भनेर रोकेको हो। ओलीले जस्तो गरेको होइन। 

त्यसोभए कसरी टुंग्याउनुहुन्छ त ?

करिब करिब हामीले कसलाई कहाँ राख्ने के जिम्मा दिने भनेर टुंग्याइसकेका छौँ। यो प्रस्ताव आजको बैठकमा अध्यक्षले पेश गर्नुहुनेछ। त्यसमा सहमति भयो भने भइहाल्यो। भएन कसैले निर्वाचनमा जान्छु भन्नुभयो भने त्यो ‘अप्सन’ पनि हामीले खुलै राखेका छौँ।  त्यसैले हामी पूर्ण जनवादी तरिकाले सबै विषयलाई टुंग्याउछौँ। 

अध्यक्षले प्रस्ताव गरेको नाम सर्वसम्मत हुने सम्भावना छ र?

सर्वसम्मत हुन सकेन एकाध व्यक्तिले निर्वाचनमा जान्छु भन्नुभयो भने विधानअनुसार अघि बढ्ने त हो नि! 

त्यसो भए अध्यक्षले चाहेको, नजिकका व्यक्तिले राम्रै जिम्मेवारी पाउने भए हैन त ?

त्यस्तो नहोस्। हुँदैन पनि । हामीले धेरै हण्डर–ठक्कर खाएर यहाँसम्म आइपुगेका छौँ। एकता, संघर्ष, रूपान्तरण, फेरि एकता, फुट विभाजन विखण्डनबाट केही सिकेका छौँ। जिम्मेवारी दिँदा, पदोन्नति गर्दा पाएका समृद्ध अनुभव सम्हालेका छौँ । त्यसबाट पाठ सिकेर नै विवेकपूर्ण ढंगले केन्द्रीय कमिटीका साथीहरूले परिपक्क भएर सबै कुराको छिनोफानो गर्नुहुन्छ भन्ने विश्वास छ । 

अर्थमन्त्रीको चौतर्फी विरोध भइरहेको छ। सडकमा प्रर्दशन हुनेदेखि सत्तारुढ र प्रतिपक्षी दलबाट राजीनामा माग भइरहेको छ। यो विषयमा पार्टीले केही निर्णय लिनु पर्दैन?

यो विषय सार्वजनिक रूपमा उठिसकेपछि हाम्रो पार्टी गम्भीर भएको छ। यसबारेमा हिजो पार्टीअध्यक्षले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर विषयबारे जानकारी लिनुभएको छ। यो सरकारको कार्यक्षेत्रको विषय पनि भयो। पहिलो कुरा ‘कौवाले कान लग्यो भनेर कौवाको पछि लाग्ने’ भन्दा पनि पहिला कान छाम्छौँ। कान छैन भने के गर्ने भन्ने निर्णय गर्छौँ। प्रतिपक्षीले गर्‍यो भन्दैमा हुन्छ र! हिजो ६–६ महिना संसदमा अवरोध गरेको होइन! 

तर हामी यसमा गम्भीर छौँ। प्रश्न उठेपछि अनदेखा गरेका छौँ भन्ने होइन। प्रश्न  कुन कोणबाट उठेको छ ? सत्यता कति छ भनेर हाम्रो पार्टीले पनि छानबिन गर्छ । जनताप्रति जवाफदेही बन्नु हाम्रो पनि कर्तव्य हो। हामी यो विषयलाई चाँडै टुंग्याउँछौँ। 

सत्तासाझेदार  एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्री फेरे। तपाईँको पार्टीको तयारी के छ? अलि अगाडि प्रचण्डले भनेजस्तो मन्त्री बन्नलाई घर घेर्ने अवस्था अहिले नदेखिएको हो?

अहिलेसम्म हाम्रो पार्टीमा २–४ दिन मन्त्री भएर झण्डा हल्लाउँदै हिँड्छु भन्ने महत्त्वाकांक्षा र पदलोलुपता देखिएको मैले पाएको छैन। अहिलेको सरकार निर्वाचनको लागि मात्र भएकाले ‘मन्त्री भइहाल्छु छोटो समयमा’ भन्ने छैन। कसैको मनभित्र भए पनि बाहिर सुनिएको छैन। अध्यक्षजी कहाँ पनि त्यस्तो दबाब छ जस्तो लाग्दैन। 

तपाईँका अध्यक्षले पूर्वमाओवादीहरु एक ठाउँमा हुने वेला आयो भनिरहनुभएको छ।  बाबुराम भट्टराईले जसपामा विभाजनको संकेत गरिरहनुभएको छ। पार्टीमा उहाँको ‘रि इन्ट्री’ सम्भावना छ ? 

 कुनै पनि पार्टी एकता गर्ने हो भने विचार, संगठन र सिद्धान्त मिल्नुपर्छ। चुनावी मोर्चा बनाउने हो भने निश्चित उद्देश्यका लागि हुने हो। उहाँ पनि कुनै वेला हामीसँगै हुनुहुन्थ्यो। २०–२२ वर्ष सँगै काम गरेको व्यक्ति आए हामी स्वागत गर्छौँ। उहाँ मात्र होइन उपेन्द्र यादवसहित सिंगै पार्टी आउँदा पनि हामी स्वागत र सम्मान गर्छौँ।

वैचारिक रूपमा एकरूपता ल्याएर आउँदा हुन्थ्यो तर यी विषय अलि रणनीतिक रूपले छलफल गर्ने विषय हुन् । अहिले तत्काल आजको भोलि टुंगो लाग्ने विषय होइनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.