|

धनगढी : बुढीगंगा नगरपालिकामा पुनः मतदान जारी छ। आज जारी मतदानमा फेरि विवाद उत्पन्न भएको छ। विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर समेत गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीगंगा नगरपालिका- ९ अन्तर्गत त्रिशक्ति माविस्थित मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएपछि विवाद उत्पन्न भएको थियो।

मतदानस्थलमा भएको विवादले झडपको रुप लिएपछि दुई जनालाई चोट लागेको छ। एकीकृत समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र स्थानीय सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। फर्जी मत खसाएको विषयमा विवाद भएपछि दलका कार्यकर्ताहरुबीच झडप भएको हो।

नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको प्रहरीले जानकारी दिएको छ। विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको हो। अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ। आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

यसअघि वैशाख ३० गते भएको निर्वाचनमा विवाद भएर मतदान रद्द भएको थियो। त्यसपछि पुनः मतदान आज हुँदैछ। यहाँ नगर प्रमुखमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.