|

जनकपुरधाम : पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या अभियोग लागेका जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिय बस्ने पंकज भनिने दामोदर चौधरीलाई धनुषा अदालतले सफाइ दिएको छ।

२०७६ कात्तिक ६ मा जनकपुरधाम १४ मुजेलियास्थित आरोपित दामोदरको घरमा इन्धनको पैसा माग्न जाँदा मनोज गोली प्रहारबाट मारिएका थिए। 

घटनालगत्तै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा दामोदरलाई प्रहरीले २ थान पेस्तोल र २२ राउण्ड गोलीसहति पक्राउ गरेको थियो।घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली तथा दामोदरको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउण्ड गोली बरामद गरेको थियो।

न्यायाधीश डा‍.परशुराम भट्टराईको इजलासले प्रमाण नपुगेको भन्दै दामोदरलाई सफाइ दिएको  हो। धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले अभियोग दाबीअनुसार प्रमाण नपुगेका कारण सफाइ दिएको बताए ।

मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घर गएका थिए। पैसा माग्दा विवाद  उत्पन्न भएपछि हात हालाहाल भएको थियो। त्यसपछि दामोदरले गोली हानेको आरोप थियो। गोली लागेर मनोजको घटनास्थलमै मृत्यु भएको थियो।  हत्या आरोपमा दामोदरलाई आजीवन कैद सजाय माग गरी जिल्ला अदालत धनुषामा मुद्दा हालिएको थियो।

निर्माण व्यवसायी दामोदरले  धनुषाको लक्ष्मीनिया गाउपालिका वडा नम्बर ४ सपहीस्थित सञ्चालन गरेको मनोजले सञ्चालन गरेकोशिव आयल स्टोरबाट पंकजले इन्धन लिएका थिए। इन्धनको बाँकी बक्यौता ८ लाख रुपैयाँका लागि ताकेता गर्न जाँदा मनोजको हत्या भएको थियो। ​

त्यसवेला जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर दामोदरले  मनोजको हत्या गरेको निष्कर्ष निकालेको थियो। उनलाई जिल्ला अदालत धनुषाले २०७६  मंसिर ४ गते पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो। अनुसन्धानका क्रममा उनले मनोजको हत्या स्वीकार गरेको प्रहरीले दाबी थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.