|

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएकालाई फर्काउन पहल गर्नुपर्नेमा जोड दिएका छन्। 

केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै उनले त्यसमा आफूले पनि पहल गरिरहेको बताए। 

‘पार्टी छाडेर गएकाहरुलाई फर्काउन हामीले अधिकतम प्रयास गर्नुपर्छ। लहैलहैमा लागेर, गलत कुराका पछि लागेर हिँडेका साथीहरुलाई फर्काउन मैले नै पहल गरिरहेको छु, तपाईंहरु पनि गर्नुस्।’ ओलीले भने, ‘ठूलो संख्यामा पार्टी फर्किनेहरूको छिट्टै घोषणा हुनेछ। यस्तो अभियान तल–तलसम्म लैजानका लागि तपाईंहरु सबैजना लाग्नूस्।’

दलहरुले वलिदानीपूर्ण संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई कमजोर बनाउनका लागि अनेक खालका प्रयासहरु भइरहेको ओलीको भनाइ थियो।

‘कहिले नयाँ पार्टीको कुरा गरिन्छ, कहिले स्वतन्त्रहरुको कुरा उछालिन्छ। विश्वमा कहीँ पनि स्वतन्त्रले शासन चलाएको र देश बनाएको उदाहरण छैन। उनले भने, ‘यस्तो बेतुकका कुराका पछि कुद्नेहरूलाई सम्झाउनुपर्छ।’

ओलीले पार्टीको विभागीय कामहरूलाई सक्रियतापूर्वक अघि बढाउन निर्देशन दिएका छन्।  

निर्वाचन अघिका चार महिना पार्टीका लागि अत्यन्तै महत्वपूर्ण रहेको स्मरण गराउँदै ओलीले निर्वाचनमा बन्ने कथित गठबन्धनलाई पराजित गर्न अहिलेदेखि नै योजनाबद्ध रुपमा लाग्नुपर्नेमा जोड दिए। 

‘हामी निर्वाचनको संघारमा छौँ। हाम्रा विरुद्धमा अनेक रुपका शक्तिहरु लागेका छन्। यस्तो बेलामा पनि हामीले स्थानीय निर्वाचनमा ३८ लाख मत प्राप्त गरेर पहिलो शक्ति भएका छौँ।’ ओलीको भनाइ थियो, ‘यस निर्वाचनमा हाम्रो हार भएको छैन। २ सय ५ स्थानमा जितेका छौँ, पहिलो शक्ति भएका छौँ। हारको हीन भावनाबाट होइन, जीतको उच्च मनोबलका साथ निर्वाचनमा होमिनुपर्छ।’

पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउनुपर्ने ओलीको भनाइ थियो। यद्यपी पार्टीभित्र अनुशासनहीनता बढेको र नैतिक राजनीतिमा कमी आएको ओलीले बताए। 

‘पार्टीको गन्तव्य, कार्यदिशा, कार्यनीति र कार्यक्रमप्रति सहमत नहुने मानिस पार्टीमा रहन सक्दैन। जब हामी यसमा स्पष्ट छौँ भने समाजवादतर्फको यात्रामा कहीँ कतै भ्रम रहनु हुँदैन। उनले थपे, ‘एउटै लय, एउटै ताल र एउटै प्रतिबद्धताका साथ हामी लक्ष्यमा दृढतापूर्वक लाग्नुपर्छ।’

एउटा वडामा वडा कमिटी सदस्यहरु नै ३९ जना रहेको तर वडाध्यक्षको ३४ मत आएको भन्दै ओलीले थपे, ‘अर्को एउटा वडामा पार्टी सदस्यहरुको संख्या ६ सय छ तर उम्मेदवारको मत ३ सय आयो। यो किन र कसरी हुन्छ ? यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।’

महासचिव शंकर पोखरेलले विभागले गर्नुपर्ने कामहरुका बारेमा स्पष्ट पारेका थिए। पार्टीका बैठकमा ३३ वटा विभागका प्रमुख र उपप्रमुखका साथै सचिव चयन भएका विभागबाट सचिवहरूको सहभागिता रहेको थियो। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.