ओली, प्रचण्ड र माधव नेपालसँग पनि भेटवार्ता गर्ने

|

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। चारदिने भ्रमणको लागि उनी नेपाल आएका हुन्। 

आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका लिउ नेतृत्वकाे टाेलीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। लिउले आइतबार बेलुकी करिब ४ बजे परराष्ट्रमन्त्री नारायण खड्का  र ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गर्ने भएका छन्। 

आज परराष्ट्रमन्त्री र प्रधानमन्त्री भेटेपछि लिउले भोलिबाट राजनीति भेटवार्तालाई तीव्रता दिने भएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन्। 

अमेरिकी सहयोग एमसिसी संसदबाट अनुमोदन भएपछि चीन नेपालसँग असन्तुष्ट छ। एमसिसीसँगै एसपिपीको बहस चलिएको बेलामा चिनियाँ नेताहरूको दौडधुपलाई अर्थपूर्ण रूपमा लिइएको छ। 

यता, नेपालको कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्नको लागि पनि सिपिसीका नेताहरू सक्रिय हुने गरेका छन्। नेपालमा फेरि वाम गठबन्धनको चर्चा चलिरहेको बेलामा  लिउको भ्रमणले सहयोग पुग्ने नेताहरुले अपेक्षा गरेका छन्। 

यसअघि ०७४ मा निर्वाचन पनि एमाले र माओवादीलाई मिलाउन चिनियाँ पक्षले महत्वपूर्ण भूमिका खेलेको थियो। त्यसपछि साविक नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत हाउ यान्छिले पनि खुलेरै सक्रियता देखाएकी थिइन्। 

कम्युनिष्ट पार्टीलाई विभाजित गरेर अमेरिकी सहयोग एमसिसी स्वीकार गरेको चिनियाँ पक्षलाई चित्त बुझेको छैन। चिनले फेरि आगामी संघीय निर्वाचनमा वाम गठबन्धन गराउन दबाब बढाइरहेका छन्। वाम गठबन्धनका लागि प्रचण्ड र माधव नेपाल सकारात्मक भएपनि ओली खुलेका छैनन्। 

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनप्रति नेताहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले खुलेरै गठबन्धनको विरोध गरेर एमालेसँग मिल्नुपर्ने बताउन थालेका छन्। 

उनले अनौपचारिक रुपमा वाम गठबन्धनबारे छलफल चलाइरहेका छन्। भने अध्यक्ष माधव नेपाल भने एमालेसँग वार्ताको ढोका नै नखुलेको दाबी गर्दै आइरहेका छन्। 

एकीकृत समाजवादीमा मात्रै नभएर माओवादी केन्द्रमा पनि प्रचण्डलाई वाम गठबन्धनको दबाव बढाइरहेका छन्। प्रचण्डलाई नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरालगायत नेताहरुले वाम गठबन्धनबारे छलफल थालिसकेका छन्। त्यसबारे हालै सम्पन्न माओवादीको केन्द्रीय समिती बैठकमा प्रचण्डले पनि संकेत गरेका थिए।

यस्तै, तत्काल वाम एकताको नगर्ने अडानमा रहेको एमाले अध्यक्ष ओलीलाई पनि पार्टीभित्रबाटै दबाब बढिरहेको छ। वाम गठबन्धनका लागि बिष्णु पौडेल, घनश्याम भूसाल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्तलगायत नेताहरुले दबाब दिइरहेका छन्। 

एमाले, माओवादी र एकीकृत समाजवादीभित्रै नेताहरुले वाम गठबन्धनको दबाब बढाइरहेको बेलामा निर्वाचनको मुखमा सीसीपी विदेश विभाग प्रमुख लिउको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेताहरूकाे स्वार्थकै कारणले विभाजित भएका नेताहरू चिनियाँ दबाबमा मिल्नसक्ने आकलन समेत हुन थालेकाे छ।

विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । लिउ नेतृत्वको चिनियाँ टोलीले असार ९ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओली र असार १६ मा कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.