|

काठमाडौं : मलेसिया सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली कामदारको आकर्षण बढेको छ। नेपालको  मुख्य श्रम गन्तव्य मुलुक मलेसियाले पारिश्रमिक बढाएसँगै मलेसिया रोजगारीका लागि जानेको संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।

मलेसियन सरकारले गत मार्चदेखि आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय रिङ्गेट (४३ हजार) पुर्‍याएको छ। पारिश्रमिकका साथै होस्टल, खानका लागि थप रकम, अतिरिक्त कामको पनि सुविधा दिने निर्णय गरेसँगै नेपालीको आकर्षण बढेको हो।

चालू आर्थिक वर्षको १० महिना अर्थात जेठसम्ममा १८ हजार ३ सय नेपालीले मलेसिया रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गतवर्ष वैदेशिक रोजगारीमा जानेको संख्या कमी आएका थियो। आर्थिक वर्ष ०७७/७८ मा १ सय ७ जनाले मात्र श्रम स्वीकृति लिएका थिए।​

लयमा फर्कंदै मलेसिया रोजगारी

मलेसिया रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा अनियमितता भएकाे भन्दै तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारी बन्द गरेका थिए। जेठ ०७५ मा बन्द भएको मलेसिया रोजगारी भदौ ०७६ मा औपचारिक रुपमा खुल्ला गरियो।

मलेसिया खुल्ला भएको केही समय नबित्दै विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण बन्द भयो। कोभिड सुरु भएपछि नेपाल सरकारले ०७६ चैतदेखि सबै मुलुकका लागि श्रम स्वीकृति बन्द गर्‍याे। नेपालमा कोभिड सुरु हुँदा मलेसियामा कोभिडको प्रभाव सामान्य थियो।

तर, मलेसियामा पनि कोभिड तीव्र रूपमा फैलिएपछि मलेसियाले सबै मुलुकका आप्रवास कामदारका लागि प्रवेश बन्द गरिदियो। कात्तिक ०७८ देखि मलेसियन सरकारले आप्रवासी कामदारका लागि खुला गर्‍याे।

यसबीचमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले मलेसिया भ्रमण गरेका थिए। त्यस समयमा नेपाली कामदारका समस्या बुझेका थिए।

मलेसियाले सरकारसँग नेपाली श्रमिकको पारिश्रमिक अन्य सेवा सुविधा वृद्धि गर्ने विषयमा छलफल गरेका थिए। हाल श्रमिकको पारिश्रमिक वृद्धि भएसँगै रोजगारीको खोजीमा मलेसिया जाने नेपालीको संख्या वृद्धि भएको हो।​

मलेसिया रोजगारीमा जानेको विवरण विभागमा

वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीसँग मलेसिया रोजगारीमा जाने श्रमिकको विवरण माग गरेको छ। मलेसियाको कामदार मागपत्र प्राप्त गर्नका लागि नेपाली म्यानपावर व्यवसायीहरूले ठूलो आर्थिक चलखेल गरेको गुनासो आएसँगै विवरण माग गरेको हो।

मलेसिया सरकारसँग श्रम सम्झौता भएको मितिदेखि श्रम गन्तव्य मुलुक मलेसिया पठाइएका श्रमिकहरूका तथ्यांङ्क माग गरेको हो। विभागले माग गरेको विवरणमा श्रमिकको सम्पूर्ण विवरण (रोजगारदाताबाट प्राप्त भएको हवाई टिकट खर्च, सेवा शुल्क) आम्दानी तथा खर्च रोजगारदाताको विवरण समेत माग गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुषालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.