ओलीको जवाफ : नेपाल-चीन सम्बन्ध सुमधुर बनाउँछौँ

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ।

मंगलवार पूर्वप्रधानमन्त्री ओली निवास बालकोटमा भेट भएको हो।

भेटका क्रममा विदेश विभाग प्रमुख लिउले क्षेत्रीय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको बदलावका बारेमा विशेष छलफल गरेका हुन्। 

छलफलपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले दुवै पक्षबाट पारस्परिक हित र लाभका आधारमा सम्बन्ध अघि बढाउने आधार र मान्यताहरु अघि बढाउने बारेमा छलफल भएको बताए।

उनले भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले चीनले नेपालको विकासलाई निरन्तर रुपमा अघि बढाउन चाहेको उल्लेख गरेको बताए।

‘शिष्टाचार भेटका लागि बालकोटमा आउनुभएको हो। विशेष गरी चीन र नेपालको सम्बन्ध धेरै अघिबाट राम्रो र सुमधुर रहँदै आएको छ। आजको बदलिँदो परिवेश जुन छ, क्षेत्रीय राजनीतिमा आइरहेको बदलाव, अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको बदलावहरूसँग पनि चीन र नेपालका जुन सम्बन्धका आधारहरू हिजो तय गरिएका थिए ती कायमै रहनेछन्। हामी पारस्परिक समानताका आधारमा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुकको एक अर्काको आन्तरिक मामलामा हस्तक्षेपको सिद्धान्त र एकले अर्कालाई पारस्परिक हित र लाभका आधारमा सम्बन्ध अघि बढाउने आधार र मान्यताहरु थिए र छन्’ उनले भने। 

यस्तै, अध्यक्ष ओलीले विगतदेखिको एक चीन नीति र नेपाली भूभाग चिनियाँ वा अरु कुनैपनि मित्र राष्ट्रकाविरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता जनाएको उल्लेख गरे। उनले अध्यक्ष ओलीले आगामी दिनमा पनि अहिले झैँ नेपाल र चीनको सम्बन्ध सुमधुर बनाएर जाने प्रतिवद्धता व्यक्त गरेको बताए।

उनले भने, ‘चीनले नेपालको विकासलाई निरन्तर रुपमा अघि बढाउन चाहेको कुरा चीनको तर्फबाट आएको छ भने नेपालको तर्फबाट विगतदेखिको एक चीन नीति र नेपाली भूभाग चिनियाँ वा अरु कुनैपनि मित्र राष्ट्रविरुद्ध प्रयोग गर्न नदिने हाम्रो पुरानो प्रतिवद्धतामा नेकपा एमाले प्रतिवद्ध छ र हामी निरन्तर रुपमा अघि बढाउन चाहन्छौँ भन्ने कुरा राख्यौँ।’

भेटमा नेपालको कम्युनिष्ट पार्टीहरूको मिलाप र एकीकरणको कुरा आन्तरिक कुरा भएकोले चीनले यसमा कुनै धारणा नराख्ने चिनियाँ पक्षले स्पष्ट पारेको छ। आइतबार ४ दिने नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन्।

विदेश विभाग प्रमुख लिउ बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र भोलि बेलुका स्वदेश फर्किने कार्यक्रम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.