|

सुर्खेत : कर्णाली प्रदेशको महत्त्वपूर्ण योजना बनाउने र कार्यान्वन गर्ने जिम्मा पाएको योजना आयोग नौ महिनादेखि पदाधिकारी विहीन रहेको छ। कर्णाली प्रदेशसभाको बैठकमा योजना आयोग गठन नहुनुको कारण सांसदहरूले माग गरे पनि सरकारले त्यसको जवाफ दिन सकेको छैन।

सोमबार पूर्वमन्त्री, नेकपा (माओवादी केन्द्र) की कर्णाली प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य विमला केसीले योजना आयोग गठन हुन किन नसकेको भन्दै बैठकमा जवाफ मागे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिन सकेनन्। आर्थिक वर्ष २०७९।८० को बजेट समेत योजना आयोग खाली भएको अवस्थामै निर्माण गरी प्रदेशसभाबाट सोमबार पास भएको छ। अघिल्लो कार्यकालमा योजना आयोग रहेका पदाधिकारीले बनाएका योजनाका महत्त्वपूर्ण खाका यो बजेटमा समेटिएको छैन।

प्रदेशसभाको बैठकमा योजना आयोगका विषयमा पटक पटक कुरा उठे पनि सरकारले सुनेर पनि नसुनेझैँ गरिरहेको छ। गठबन्धनबीच सहमति नगरी एकलौटी तरिकाले नियुक्ति गर्न नपाएपछि मुख्यमन्त्री शाहीले योजना आयोग खाली राखेको सत्तारुढ माओवादीको बुझाइ छ। प्रदेशसभामा कुरा राख्दै माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीको भनाइले यही पुष्टि गर्छ।

शाही सरकार गठन हुँदा योजना आयोगका उपाध्यक्षसहित तीन मन्त्रालय माओवादीलाई दुई मन्त्रालय नेकपा (एकीकृत समाजवादी केन्द्र) लाई र दुई मन्त्रालय कांग्रेसले लिने आन्तरिक सहमति रहेको थियो।

सरकार गठन गर्दा भएको उक्त सहमति मुख्यमन्त्री शाहीले कार्यान्वयन नगर्दा योजना आयोग खाली भएको नेताहरूको भनाइ छ। सहमति नभएरै काठमाडौँका एक व्यक्तिलाई उपाध्यक्ष बनाउन प्रस्ताव आएपछि दलीय सहमतिविना आएको भन्दै एकाएक गायब बनाएको थियो। १० जिल्लाका अस्पतालको अध्यक्ष समेत भर्खरै टुंगो लगाएको प्रदेश सरकारले योजना आयोगमा पदाधिकारी नियुक्तिका लागि चासो दिएको छैन। अहिले मुख्यमन्त्री शाहीले योजना आयोगको काम एक्लै गर्दै आएका छन्।

मुख्यमन्त्री नियुक्त भएको नौ महिना बित्दासम्म योजना आयोग अपूर्ण हुनु कतै सरकारकै कमजोरी त हैन ? यो हद दर्जाको लापरबाही हो। कतै समन्वयको कुरामा सरकार आफै कमजोर बनेको त छैन भन्दै सांसदहरूले आक्रोश पोख्दै आएका छन्।

पदाधिकारी नभएको योजना आयोगमा बजेट केका लागि छुट्याएका हो भनी प्रश्न समेत गरिएको छ। सरकारले योजना आयोगलाई पूर्णता दिनुपर्नेमा सांसदहरूको जोड रहँदै आएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले यसअघि योजना आयोगको खासै औचित्य नभएको टिप्पणी गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.