|

म्याग्दी : पर्यटकीय जिल्ला मुस्ताङ र म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घटेपछि यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रियरूपमा देखा परेको आर्थिक सङ्कट र कोरोना महामारीको दीर्घकालीन असरका कारण म्याग्दी र मुस्ताङलगायत धौलागिरि क्षेत्रका बागलुङ र पर्वतमा समेत पर्यटकको सङ्ख्या घटेको हो।

पर्यटक आगमन घट्दै गएपछि पर्यटकीय क्षेत्रहरू सुनसान भएका छन् भने व्यवसायी निराश बनेका छन्। यतिवेला मुस्ताङका मुख्य होटल र म्याग्दीको घोडेपानीमा एक/दुई होटलमा भन्दा अन्य होटलमा पर्यटक छैनन्। म्याग्दीको सदरमुकाम बेनी बजारका सबै होटलहरु सुनसान छन् भने मुस्ताङ, कुश्मा र बागलुङका होटलहरुमा समेत फाट्टफुट्ट आन्तरिक पर्यटक बाहेक बाहिरी मुलुकका पर्यटकहरू छैनन्।

साना तथा मझौला होटलहरूमा पर्यटक नआएपछि बन्द गर्नुपर्ने अवस्था आएको छ।

पछिल्लो समय कोरोना महामारीको अन्त्य भएपछि धौलागिरि क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको थियो। त्यसपछि स्थानीय तहको निर्वाचन, मुलुकमा देखिएको आर्थिक सङ्कट र वर्षायाममा सडकको दुरावस्थाका कारण यस क्षेत्रमा पर्यटक आगमन घटेकाे होटल व्यवसायी विमला गौचनले बताइन्।

स्थानीय तहको निर्वाचन, वर्षायाम, पटक-पटक अवरुद्ध हुने बेनी–मालढुङ्गा, बेनी–जोमसोम सडकखण्ड र पछिल्लो समय देशमा उत्पन्न हुँदै गएकाे आर्थिक सङ्कटका कारण यस क्षेत्रमा पर्यटक नआएका होटल व्यवसायीको भनाइ छ।

भरपर्दो सडकको व्यवस्था नहुँदा पर्यटकहरू म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा जान नचाहने गरेका पर्यटन व्यवसायीहरूको गुनासो रहेको छ। मुस्ताङमा अहिले अत्यन्त थोरै मात्र  विदेशी पर्यटक आएका होटल व्यवसायी तीर्थ भट्टचनले बताए।

दैनिक २ सयभन्दा बढी विदेशी पर्यटकहरू देखिने मुस्ताङमा अहिले विदेशी पर्यटक फाट्टफुट्ट मात्रै देखिने गरेका उनको भनाइ छ।

कोरोना महामारीको अन्त्यसँगै पर्यटकका कारण धौलागिरि क्षेत्रको पर्यटन व्यवसाय चलायमान हुन्छ भन्ने अनुमान यहाँका व्यवसायीहरूले गरेका थिए। तर, महामारी सकिएको डेढ वर्ष हुनै लाग्दा यहाँको अवस्था पुरानै लयमा फर्किन सकेको छैन।

होटल व्यवसायीका अनुसार असार महिना पर्यटक कुरेरै गयो। पानी र बिजुलीको शुल्कसमेत तिर्न नसक्ने र होटलमा काम गर्ने कर्मचारीलाई तलब दिन सक्ने अवस्था नरहेको यहाँका होटल व्यवसायीहरूको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.