|

रुकुम (पूर्व) : जनयुद्धका क्रममा भूमिगत भएका नेता कार्यकर्ता, जनसेना, शहीद, घाइते, अपांग परिवारका छोराछोरीलाई शिक्षा दिलाउने उद्देश्यले तत्कालीन नेकपा माओवादी शिक्षा विभाग अन्तर्गत स्कुल खोलिएका थिए, तिनैमध्येको एक हो, रुकुमपूर्वको क्याङ्सीमा रहेको शहीद वासु स्मृति जनवादी विद्यालय।

२०६२ सालमा रुकुमको मोराबाङ गाविसको क्याङ्सीमा माओवादीका स्थायी समितिका तत्कालीन पोलिटब्यूरो सदस्य सुरेश आले (वासु) को नामबाट स्थापना गरिएको विद्यालयमा राज्यद्वारा अभिभावक मारिएका २० जना टुहुरा बालबालिका सहित १११ आवासीय विद्यार्थी अध्ययनरत थिए।

तीमध्ये अधिकांश माओवादी जनयुद्धमा लागेर मृत्यु भएका शहिद परिवार जनमुक्ति सेना र आर्थिक स्तर कमजोर भएका विद्यार्थी हुन्। रुकुमसँगै छिमेकी जिल्ला जाजरकोट, रोल्पा, सल्यान र बागलुङका समेत थिए। उक्त विद्यालयको सम्पूर्ण खर्च माओवादी कार्यालयबाट नै व्यहोरिन्थ्यो।​​

​जनवादी विद्यालय सञ्चालनका लागि पार्टीका नेता कार्यकर्ता र सर्वसाधारणले विद्यालयको भौतिक संरचना निर्माण गरेका थिए। युद्ध अवधिभर पार्टीकै नीति निर्देशनमा सञ्चालन भयो। पछि जनयुद्ध विस्तृत शान्ति सम्झौता भएर पार्टी नै सरकारमा गएपछि जनवादी विद्यालय गाउँकै सरकारी विद्यालयसँग गाभियो। त्यसपछि जनवादी विद्यालयका भौतिक संरचना प्रयोगविहीन अवस्थामा पुग्यो। विद्यालमा अहिले एउटा दुई तले आठ र अर्काे एकतले दुई कोठा गरी दुई भवन छन्। 

देशमा गणतान्त्रिक संघीय प्रणालीमा गई तीन तहको सरकार बनेपछि भूमे गाउँपालिका सरकारले जीवन्त अध्ययन संग्रहालयको रूपमा संरक्षण गर्दै आयो र नयाँ शैक्षिक सत्रदेखि अभिभावक नभएका बालबालिकालाई आवासीय सुविधासहितको जनवादी विद्यालय जीवन्त अध्ययन संग्रहालयको रूपमा अघि सारिएको छ।  

अनाथ बालबालिकालाई आवासीय सहितको पढाइ 

गाउँपालिकाले अभिभावक नभएका (अनाथ) बालबालिकालाई आवासीय सुविधा सहित पठनपाठन सुरु गरेको छ। भूमे गाउँपालिका भित्रका अभिभावक नभएका (अनाथ) बालबालिकाका लागि आवासीय सुविधा सहित पठनपाठन सुरु गरिएको हो।  

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा सञ्चालन भएको शहीद वासु स्मृति नमूना जनवादी विद्यालय भूमे–३ क्याङ्सीलाई आवासीय रूपमा प्रयोगमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए। उक्त जनवादी विद्यालयलाई जीवन्त अध्ययन संग्रहालयको रूपमा विकास गर्ने गाउँपालिकाको परिकल्पनाअनुसार अभिभावक नभएका बालबालिकाका लागि आवासीय रूपमा पनि प्रयोजनमा ल्याइएको अधिकृत श्रेष्ठको भनाइ छ।

हाल चार छात्रा र सात  छात्र गरी ११  अनाथ बालबालिकालाई भर्ना गरी पठनपाठन गराइराखेको विद्यालयले जनाएको छ। खान\बस्नका लागि क्याङ्सी गाउँमा रहेको जनवादी विद्यालयमा व्यवस्था मिलाइएको छ भने दिउँसोको कक्षा पढाइ क्याङ्सी गाउँकै शहीद वासु स्मृति नमुना आधारभूत विद्यालयमा पढाइ राखिएको छ। उनीहरूको हेरचाहका लागि एक कर्मचारीसमेत गाउँपालिकाले राखेको छ।

बालबालिकाको शैक्षिक सामग्री र कपासहित सबै व्यवस्था गाउँपालिकाले व्यहोर्ने गरेको छ। यही नयाँ शैक्षिक सत्रदेखि गाउँपालिकाले अभिभावक नभएका बालबालिकाका लागि आवासीय सहितको पठनपाठन कार्यक्रम सञ्चालन गरेको हो। 

‘युद्धकालमा स्थापित शहिद वासु स्मृति नमूना जनवादी विद्यालयलाई जीवन्त अध्ययन संग्रहालयको रूपमा विकास गर्ने गाउँपालिकाको उद्देश्य छ’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, ‘शहिद परिवार, अनाथ र अभिभावकविहीन बालबालिकाका लागि आवासीय पठनपाठनको कार्यक्रम ल्याइएको हो।’

जनवादी विद्यालयको भवनआवासीय रूपमा प्रयोगमा ल्याइएको छ भने गाउँकै आधारभूत विद्यालयमा दिवा कक्षा अध्ययनका लागि व्यवस्था मिलाइएको छ। आगामी आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालन गर्न  गाउँपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेको छ। 

आधारभूत तहको शिक्षा क्याङ्सी गाउँको विद्यालयमा पढाइने छ। माध्यामिक तथा व्यवसायिक, उच्च शिक्षा हासिल गर्नका लागि शैक्षिक ऋण र शैक्षिक छात्रवृत्ति गाउँपालिकाको कार्यक्रममार्फत पठनपाठनलाई निरन्तरता दिइने श्रेष्ठको भनाइ छ।    

जनवादी विद्यालयको पृष्ठभूमि  

युद्धकालमा तत्कालिन नेकपा माओबादीले संचालन गरेको विद्यालय नै जनवादी विद्यालय हो। २०६२ फागुन महिनामा जिल्लाकै सिस्ने गाउँपालिका–२ प्वाङको छिपखोलाबाट भूमे–३ क्याङ्सी सारिएको थियो। जहाँ कक्षा ३ बाट शुरु गरिएको थियो। त्यसपछि प्रत्येक वर्षमा कक्षा थपिँदै लगियो। पहिलो पटक २०५९ मा रुकुम पश्चिम दुलीको छहरा ठाउँमा स्थापना गरिएको थियो। 

जनवादी विद्यालय दुलीमा बाल संरक्षण केन्द्रको नामकबाट सुरुवाती गरिएको युद्धकालदेखि पढाउँदै आएका हाल आधारभूत विद्यालय क्याङ्सीका शिक्षक डम्बरकुमार नेपालीले बताए। ‘प्वाङमा २०६१ सालमा मात्र सञ्चालन गरिएको थियो’, उनी भन्छन्, ‘२०६२ देखि ०६७ साल सम्म क्याङ्सीमा निःशुल्क आवासीय विद्यालय सञ्चालन भएको हो। त्यस वेलामा पनि  अनाथ विद्यार्थीका लागि आवाससहितको व्यवस्था थियो।’ 

२०६७ मा सरकारी मान्यता प्राप्त गरी कक्षा ८ सम्म पुर्‍याइएको थियो। त्यसपछि सरकारी पाठ्यक्रमअनुरूप पढाइ सुरु भएको शिक्षक नेपालीले जानकारी दिए। २०६९ चैत १५ गते प्रावि क्याङ्सीसँग गाभिएपछि विद्यालय बालविकास कक्षा देखि कक्षा ८ सम्म पढाइ भइरहेको छ। 

जनवादी विद्यालय सञ्चालन हुँदा पार्टीको शिक्षा विभागले नै प्रकाशन गरेका किताब र त्यसैको अनुगमनमा विद्यालय सञ्चाचन हुने गरेको थियो। आवासीय सहितको पढाइ हुँदा १३० देखि २०० को हाराहारीमा विद्यार्थी थिए। तीमध्ये ७५–८५ जना यहीँ बस्थे। 

शनिबारको साटो जनयुद्ध सुरु भएको बार विदा 

शुक्रबारको अतिरिक्त क्रियाकलाप कार्याक्रम र शनिबारको पूरा विदा हुने गरेकोमा जनयुद्धको शुरु गरिएको २०५२ फागुन २ गते बुधबार परेकाले त्यसैलाई आधार मानेर मंगलबार अतिरिक्त क्रियाकलाप गर्ने र बुधबार पूरा विदा दिने गरेका थिए।
    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.