|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तीनदिने भारत भ्रमणले आफू उत्साहित रहेको बताएका छन्।

शुक्रबार भारत भ्रमणमा जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग उनले भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयसँग परामर्श लिएको बताए।  

नेपाल र नेपाली जनताको हितलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो कसरी बनाउने भन्ने विषयमा मेरो मुख्य रूपमा भारत सरकारका प्रतिनिधि र भारतीय जनता पार्टीका नेताहरूसँग कुरा हुने उनले बताए।

अध्यक्ष दाहालले नेपाल–भारत सीमा समस्याको सम्बन्धमा कूटनीतिक संवादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुने जानकारी दिए।

नेपालको विकासका लागि द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने, व्यापार सन्तुलनलाई कम गर्ने लगायतको विषयमा पनि छलफल हुने उनको भनाइ छ। उनले द्विपक्षीय हित हुने गरी व्यापार र अन्य विकास निर्माणका काम अगाडि बढाउने कुरा पनि हुने स्पष्ट पारे।

आफ्नो भ्रमण राजनीतिक नेतृत्व, पार्टीहरू, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित हुने उनले उल्लेख गरे।

‘नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर नेपाल-भारत सम्बन्धका विविध पक्षमा चर्चा स्वभाविक रूपले हुने नै छ। मैले विगतमा झै यसपालि पनि नेपालको समग्र विकासको निम्ति द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने हिसाबले, व्यापारको सन्तुलनलाई कम गर्ने विषयमा, इतिहासबाट कतिपय थाँती रहेका विषयलाई कूटनीतिक र संवादको माध्यमबाट टुंग्याउने कुरा, सीमानाका विषयलाई पनि त्यसरी नै कूटनीतिक संवादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने कुरा लगायत सबै विषयमा पक्कै पनि चर्चा हुन्छ', अध्यक्ष प्रचण्डले भने, 'दुवै देशको आर्थिक हित हुनेगरी, द्विपक्षीय हित हुनेगरी व्यापार र अन्य विकास निर्माणका कामहरू कसरी अगाडि बढाउने भन्ने कुरा पनि स्वभावैले हुन्छ। भाजपा र हाम्रो पार्टी पनि एउटा गठबन्धन भित्रको महत्त्वपूर्ण पार्टी भएको हुनाले दुई पार्टीका बीचमा एउटा सकारात्मक र सद्भावपूर्ण वातावरण निर्माण गर्ने र त्यसलाई सहयोग गर्ने कुरामा पक्कै पनि यो केन्द्रित हुन्छ। त्यसकारण यो भ्रमण अन्ततः दुवै देशका राजनीतिक नेतृत्व, पार्टीहरू, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा नै केन्द्रित हुन्छ।’

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.