श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दासँगै र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई पनि जुलाई २८ सम्म अनुमतिविना देश नछाड्न आदेश दिएको हो।
यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उनीहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाएको हो। अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर र अरु केही व्यक्तिलाई पनि देश छाड्न प्रतिबन्ध लगाएको छ।
अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक संकट उत्पन्न हुनुमा जिम्मेवार रहेको लगायतका आरोप लगाउँदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ।
श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि आम नागरिकको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिएका थिए। प्रदर्शन चर्किएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले पनि राजीनामा दिएर देश छाडेका छन्।
नयाँ राष्ट्रपति चयनका लागि आगामी जुलाई २० मा निर्वाचन हुने भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।