|


बागलुङ : गलकोट नगरपालिका वडा नम्बर १ का कृषकहरु किराले तरकारी तथा बाली नष्ट गरिदिएपछि चिन्तित थिए। जब नगरपालिकाले गाउँमै पुगेर बाली शिविर सञ्चालन गर्‍यो, तब उनीहरु चिन्ता मुक्त भए।

गलकोट नगरपालिकाले कृषकका समस्या समाधानका लागि गाउँमै पुगेर बाली उपचार शिविर सञ्चालन थालेपछि यहाँका कृषकलाई ठूलो राहत मिलेको छ।

शिविरमा कृषकको समस्या बुझ्ने, आवश्यक परामर्श दिने तथा बालीमा लागेको रोग पत्ता लगाउने र आवश्यक उपचार हुने गरेको कृषक बताउँछन्।

गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीका किसान हीराबहादुर काउचा बारीमा लगाएको तरकारी, सुन्तला, कागती लगायतको फलफूलको फल झर्ने, बोटका मुन्टा सुक्ने लगायतको समस्याले हैरान भएका थिए।

नगरपालिका तथा कृषि ज्ञान केन्द्रले गाउँमै कृषि प्राविधिक पठाएर बाली शिविर सञ्चालन गरेपछि आफू जस्ता किसानलाई राहत पुगेको काउचा बताउँछन्। गाउँमै बाली उपचार शिविर सञ्चालन गरेर कृषि प्राविधिकले दिएको सुझाव अनुसार किसानले बाली तथा तरकारी संरक्षण गर्न सफल भएको उनको भनाई छ।

‘बारीमा लगाएको तरकारी फलफूल सबै मरे, भर्खर फूल खेलेर फल हाल्न लागेका फलफूलको फल झर्न थालेपछि हामीलाई निकै चिन्ता लागेको थियो, फलहरु सबै भुँईमा देख्दा मन उम्लिन्थ्यो,’ काउचाले भने, ‘नगरपालिकाले गाउँमै बाली उपचार शिविर सञ्चालन भएपछि ठूलो नोक्सानीबाट जोगिएको छ,​ प्राविधिकहरुले बाली र फलफूलको परीक्षण गरी आवश्यक सुझाव दिनुभयो, जैविक विषादीको प्रयोग गरेर रोग नियन्त्रणका उपाय पनि सिकाउनुभयो, अब यो समस्या समाधान हुने अपेक्षा लिएका छौँ।’

स्थानीय तहले गाउँमै कृषि प्राविधिक पुगेर बालीमा लागेको रोगका बारेमा जाँचबुझ गरी उपचार पद्धतिका बारेमा कृषकलाई जानकारी दिएको गलकोट नगरपालिकाकी कृषि प्राविधिक रमा शर्माले बताइन्। उनले कृषकहरुले प्राविधिकले सुझाए अनुसार रोग तथा किरा नियन्त्रणका लागि औषधि तथा अन्य विधि अपनाउने शर्माले बताइन्।

नगरपालिकाले वडा नम्बर ५ हरिचौर र वडा नम्बर २ दुदिलाभाटीमा शिविर सञ्चालन गरेकाे थियो। दुदिलाभाटीमा २५ जना कृषकहरूले आफ्नो तरकारी र फलफूल खेतीमा लागेको रोगको बारेमा जानकारी गराएर समाधानको उपायको बारेमा खोजी गरेका थिए।

कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले कृषकको समस्या बुझ्ने गुनासो सुन्ने र उनीहरुको समस्या समाधानका लागि शिविर सञ्चालन गरेको हाे।

आयोजनामा जिल्लाका विभिन्न स्थानमा बाली उपचार शिविर सञ्चालन गरिएको बताए। उनले ग्रामीण क्षेत्रका कृषकका साथमा प्राविधिकहरुको कमी हुने हुँदा धेरै समस्या भोग्नु परेको बताए।

‘बागलुङको अधिकांश खेती ग्रामीण क्षेत्रमै हुन्छ, त्यहाँ प्राविधिकको उपलब्धता छैन, कृषकहरुले हरेक वर्ष विभिन्न समस्या भोग्दै आउनु परेको छ, उनीहरुको समस्या समाधानका लागि हामी गाउँमै पुगेर बाली उपचार शिविर गरिरहेका छौँ,’ प्रमुख भट्टराईले भने ‘शिविरले कृषकलाई धेरै राहत मिलेको छ, उनीहरु निकै उत्साहित समेत बनेका छन्।’

ज्ञान केन्द्रले यस वर्षमा जिल्लाका ६ स्थानमा शिविर सञ्चालन गरिसकेको उनको भनाई छ। कृषकका हरेक समस्या समाधानका लागि विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.