Bohora

|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरुलाई मुआब्जा सिफारिस गर्ने कार्यदलको संयोजकमा दल बहादुर बोहरा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को असार २१ गतेको निर्णयअनुसार बोहरालाई कार्यदलको संयोजकमा नियुक्त गरिएको हो। निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे अध्ययन गरी पुनः स्थापनाका लागि मुआब्जा सिफारिस गर्न कार्यदल गठन भएकाे हाे। कार्यदलको अवधि छ महिना तोकिएको छ।

निकुञ्जसँग निकट रहेर बोहराले लामो समयसम्म कार्य गरेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्रको त्रिशक्ति उपभोक्ता समितिमा अध्यक्ष भएर उनले कार्य अनुभव बटुलेका छन्।

निकुञ्जका बारेमा उनलाई अनुभवी मानिन्छ। राजनीतिक क्षेत्रमासमेत बोहरा दखल राख्छन्। लामो समयदेखि राजनीतिक क्षेत्रमा क्रियाशील उनले नेपाली कांग्रेसको क्षेत्रीय सभापति भएर कार्य गरिसकेका छन्।

दिईएको जिम्मेवारी पूर्ण निष्ठा र इमान्दारीपूर्वक बहन गर्ने बोहराले थाहाखबरसँग कुरा गर्दै बताए।

‘निकुञ्ज विस्थापित परिवारको अवस्था निकै कष्टपूर्ण छ। त्यो कुरा नजिकबाट नियाल्ने मौका पाएको छु। यसबारे जानकार छु’, उनले भने, ‘लामो समयदेखि बल्झेको समस्याका रुपमा रहेको छ। विस्थापित परिवारसँग छलफल गरी मुआब्जा र पुनः स्थापनका लागि निष्कर्षमा पुग्छौँ।’

विसं २०५८ सालमा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विभिन्न क्षेत्रका वस्ती हटाइएका थिए। वस्ती हटाइएका केही परिवारलाई पुनः स्थापन गरिएपनि अझै दुई हजारभन्दा बढी परिवार पुनः स्थापन हुन बाँकी रहेका छन्।

विस्थापित परिवार निकुञ्जकै तारापुर, ढक्का, लल्लरेडाँडा लगायत जिल्लाका विभिन्न वन क्षेत्र नजिक र नदी खोला किनारामा झुपडी बनाई बस्दै आएका छन्।

बोहराको संयोजकत्वमा बनेको कार्यदलसहित निकुञ्ज विस्थापित परिवारको पुनः स्थापनाका लागि ३१ वटा आयोग बनिसकेका छन्।

निकुञ्ज विस्थापितको समस्या समाधानका लागि बनेको यस अघिको ३० औँ आयोगले १० कठ्ठा जग्गा वा रु. ६० लाख मुआब्जा दिनुपर्ने प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको थियो। प्रतिवेदन अझै कार्यान्वयन भने भएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.