|

पर्वत : पर्वतको जलजला गाउँपालिकाले विपद्मा परेकाहरूको उद्दारको लागि गाउँपालिकाभित्र रहेका प्रहरी चौकीहरूलाई उद्दार सामग्रीहरू उपलब्ध गराएको छ।

भूकम्प, वर्षाको बेलामा जान सक्ने बाढी पहिरो, चट्याङ लगायतका विपद्को बेलामा उद्दार गर्न पुग्ने प्रहरीसँग उद्दार सामग्रीहरू आवश्यकता अनुसार भएमा छिटो उद्दार हुन सक्ने भएकाले ती सामग्रीहरू उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए।
अहिले बर्खा यामको बेला रहेको र जलजलाका विभिन्न वडाहरूमा पहिरोको जोखिम रहेकाले जुन कुनै बेलामा विपद् आउन सक्ने भएकाले तयारी अवस्थामा रहेको प्रहरीलाई सामग्रीहरू दिइएको उनको भनाई छ।

बेल्चा, गैँची, साबेल, डोरी, हँसिया, हाते आरा, हेलमेट लगायतका उद्दार सामग्रीहरू दिइएको हो। ‘प्राकृतिक विपद् कुन बेलामा आउँछ भन्ने कसलाई के थाहा छ र? जलजलामा गत वर्ष पनि धेरै ठाउँमा पहिरो गएका थिए।

अहिले पनि अझैसम्म वर्षा भएको छैन, अब होला,’ उनले भने, ‘उद्दार सामग्रीहरू प्रशस्त भए भने प्रहरीले समयमा नै उद्दार गर्न सक्छ। छिटो उद्दार भएमा मान्छेको ज्यान बाँच्छ। मानवीय सहितका अन्य क्षतिलाई कम गर्न ती सामग्रीहरू दिएका हौँ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले वडा-३ वारी बेनी, वडा- ५ लेखफाँट र वडा-७ मिलनचोकमा रहेका तीन ओटा प्रहरी चौकीहरूमा उद्दार सामग्रीहरू प्रदान गरिएको बताए।

नागरिकलाई स्थानीय सरकारको महसुस हुनका लागि स्थानीय तहले नागरिकले प्रत्यक्ष अनुभव गर्न सक्ने गरी कामहरू गर्नुपर्ने उनको भनाई छ।

‘स्थानीय सरकारको महसुस हुनको लागि नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने खालका कामहरू गरियो भने सङ्घीयताको मर्म नागरिक समक्ष पुगेको हुन्छ’, उनी भन्छन्, ‘प्रहरीलाई उद्दार सामग्री प्रदान गर्ने त एउटा काम भयो। हामीले स्वास्थ्य र शिक्षामा पनि उस्तै फरक कामहरू गरिरहेका छौँ। शिक्षाले चेतनाको विकास गर्छ, चेतनाले विकासलाई सकारात्मक बाटोमा लैजान्छ।’

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले प्रहरीलाई सामग्रीयुक्त बनाउन जलजला गाउँपालिकाले गरेको सहयोग प्रशंसनीय रहेको बताए।

जति धेरै र फरक फरक खालका उद्दार सामग्रीहरू भए उति नै छिटो उद्दार गर्न सकिने भएकाले प्रहरीलाई उद्दारमा सघाउनु आवश्यक रहेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.