|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङका कृष्णप्रसाद रिजाल वर्ष दिन खानुपर्ने खेतीको चिन्तामा छन्। विगतका वर्षमा यो बेलामा रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो। तर, यस वर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो, रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए, तर वर्षा नहुँदा खेत बाँझै छ।

‘पोहोर सालको तुलनामा त अहिले पानी नै परेन। अब त भोकमरी आउन लागेको हो जस्तो भयो। सबै खेत बाँझै छ, बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो। यस पटक धान उत्पादन नै मुस्किल हुने भयो’, उनले भने, ‘लौ पानी देऊ भगवान् भनेर मनमा भगवानको नाम जप्नी, आकाशतिर हेर्नी तिनै बाँझा गह्रा हेर्नीभन्दा अर्को काम भएन। अब वर्षा भए पनि धान उत्पादन गतिलो नहुने भयो।’

समाचारहरूमा विगतको तुलनामा यस वर्ष वर्षाको सम्भावना धेरै रहेको र बाढी पहिरो जान सक्ने कारण सतर्कता अपनाउन भनियो। वर्षा हुने भएपछि समयमा नै रोपाइँ सकेर उम्किएर बस्न भन्दै पूरा नपाकेका मकैसमेत कृषकहरूले थन्क्याए।

समाचारमा भनिएको जस्तो न त वर्षा भयो, न त पुस्टिएका मकै थन्क्याइयो। जिल्लाका धेरै स्थानहरूमा यस्तै समस्या भइरहेको कृषकहरूले बताएका छन्।

कुलो र नहरको सुविधा भएको, खोला तथा नदी किनार र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन सकेको छैन। वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रापिएका खेतहरू पनि सिचाइको समस्यामा पटपटी फुटेका छन्।

‘भल छोपेर रोप्नुपर्ने ठाउँमा त रोपाइँ नै भएको छैन। धाराको पानी जम्मा पारेर पालो गरेर रोपेको खेतमा सिँचाइ गर्ने पानी नपुग्दा रोपेको खेत पनि पट्पटी फुटेको छ’, फलेवास नगरपालिका–३ शंकरपोखरीका प्रदीप भुसाल भन्छन्, ‘दिनभर टन्टलापुर घाम लागेका छन्। अलि अलि रसाउन थालेका मूलहरू पनि घामले सुके। अब वर्षा भएछ भने पनि यो लेकमा साउनमा रोपेको धान के पो फल्ने होला?’

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार शुक्रवारसम्म जिल्लामा करिब ६० प्रतिशत रोपाइँ पूरा भएको छ।

धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँहरूमा नै पानीको अभावका कारण करिब आधा जति रोपाइँ भएको सूचना स्थानीय तहका प्राविधिकहरूले दिएको उनको भनाई छ। ‘पाङ, कटुवाचौपारी, फलेवास लगायतका राम्रो धान उत्पादन हुने क्षेत्रमा नै रोपाइँ भएको छैन। करिब ६० प्रतिशत रोपाइँ भएको छ। थोपा थोपा सँगालेर रोपेका ठाउँमा पनि सिचाइ नहुँदा खेतका गराहरू चर्किएका छन्’, उनी भन्छिन्, ‘वर्षा नै नभएपछि कसलाई के पो दोष लगाउनु? अबै भए पनि मूल फुट्ने गरी वर्षा हुन सकेमा रोपाइँ धमाधम हुने थियो। दिनभर चर्को घाम लाग्दा पानीका मुहान सुके, गर्मीका कारण कृषकहरू पनि घरभित्र बस्नुपरेको छ।’

पर्वतको फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिका धान उत्पादनका मुख्य क्षेत्रहरू हुन्। डाँडाकाँडामा रहेका ती ठाउँहरूमा वर्षा भएपछि उर्लिएर आउने खहरेको भर परेर रोपाइँ हुने गरेको छ। तर वर्षा नभएका कारण खहरे नै नउर्लिएका कारण रोपाइँ भएको छैन। जिल्लाका धेरै ठाउँका कृषकहरूले गर्मीका कारण रोपाइँ भएका खेतका गराहरू फुट्दा रोपेको धान नै खैरो हुँदै गएको बताउँछन्।

डाँडाकाँडा र लेक रहेको क्षेत्रमा छिटो रोपाइँ गर्न सकेमा मात्रै पछि समयमै धान पाक्छ र अनुकूल मौसममा थन्क्याउन पाइन्छ। बेँसीमा तापक्रमका कारण छिटो धान पाक्ने भए पनि लेकमा ढिला गरी पाक्छ।

तिनै लेकमा साउन लाग्दासम्म पनि रोपाइँ हुन नसक्दा यस वर्ष धान नै उत्पादन गर्न नसकिने चिन्तामा कृषकहरू छन्। प्रमुख खाद्य बाली पनि धान नै भएकाले पनि वर्ष दिन खानुपर्ने अन्नको अभावमा अबको वर्ष बित्ने हो की भन्ने चिन्ता उनीहरूलाई लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.