|

काठमाडौं : आर्थिक वर्ष ०७८/७९ मा २६ जना सरकारी कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा रंगेहात पक्राउ परेका छन्।

भ्रष्टाचारका गतिविधिमा रंगेहात कारबाहीमा परेका जम्मा ३८ जनामध्ये, २६ जना राष्ट्रसेवक कर्मचारी, ६ जना बिचौलिया र ६ जना निर्वाचित जनप्रतिनिधि रहेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार यस आर्थिक वर्षमा १३१ मुद्दा विशेष अदालतमा दर्ता भएका छन्। यी मुद्दामा ६ सय ३९ जना प्रतिवादी रहेका छन्। तीमध्ये पनि सबैभन्दा बढी ३११ जना सरकारी कर्मचारी प्रतिवादी रहेका छन्। त्यस्तै बिचौलिया १७२ जना र एकजना भूतपूर्व मन्त्रीसहित निर्वाचित पदाधिकारीहरू १५६ जना प्रतिवादी रहेका छन्। 
सबै प्रतिवादीहरूबाट २ अर्ब ७८ करोड ४३ लाख ३२ हजार ७१० रूपैयाँ बिगो मागदाबी गरिएको छ।

गत एक वर्षमा अदालतले गरेका १४८ फैसलामध्ये ५८ वटा अर्थात् ३९ दशमलव १९ प्रतिशत मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको छ। अदालतले सफाई दिएको ६० वटा मुद्दामा आयोगले पुनरावेदन गरेको प्रवक्ता भण्डारीले बताए।

गत आर्थिक वर्षमा भने अदालतबाट फैसला भएका ११३ मुद्दामध्ये ७१ दशमलव ६८ प्रतिशत तथा ८१ वटा मुद्दामा भ्रष्टाचार गरेको कसुर कायम भएको थियो। आव ०७८/७९ मा सार्वजनिक सम्पत्तिको हानी नोक्सानीका ३५, गैरकानूनी लाभहानीको ३४, घुसको ३२ वटा मुद्दा दर्ता भएका छन् भने अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी ७, नक्कली शैक्षिक प्रमाणपत्र ६ र राजस्व हिनामिनाका ५ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.