|

काठमाडौं : काठमाडौं ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुबाट एक वर्षमा ३३ करोड भन्दा बढी राजस्व उठेको छ।

गत आर्थिक वर्ष ०७८/७९ मा कारबाहीमा परेका ५ लाख ५ हजार ५९७ सवारी चालकबाट ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।

लेन अनुशासन पालना नगरेका, मादक पदार्थ सेवन गरेका, तीव्र गति र रातो बत्ती पालना नगरेका सवारी चालक कारबाहीमा पर्ने गरेका छन्। भाडा ठगी तथा अनियमितता गर्ने १० हजार २९५ जना कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ।

एक वर्षको अवधिमा काठमाडौं उपत्यकाबाट १५ सय ९० वटा मोटरसाईकल हराएका छन्। तीमध्ये ४१३ मोटरसाईकल फेला पारी सवारी धनीलाई जिम्मा लगाइसकिएको छ भने ५०६ मोटरसाइकलको खोजी भइरहेको छ।

सवारीसाधन चोरीमा संलग्न ४६ जना समातिएका छन्।

उपत्यकाको अधिकांश ठाउँका अण्डर ग्राउण्ड पार्किङमा पार्किङ नभएर अन्य प्रयोजनको लागि प्रयोग हुने गरेको छ। महाशाखाका अनुसार त्यसमा डिस्को, शाे रुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदाम जस्ता कार्यमा प्रयोग भएकाले पार्किङ व्यवस्थापनमा चुनौती भएको छ।

पार्किङ व्यवस्थापनका लागि सो हटाउन र पार्किङ व्यवस्थित बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई  सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त सवारी व्यवस्थापन मिसन सञ्चालन गरिरहेको छ। जसअन्तर्गत उपत्यकाका २२ स्थानमा २४ घण्टा ड्युटी गर्ने गरेका छन्।

त्यसैगरी २६ वटा मोबाइल कारबाही टोली, २७ वटा क्वीक रेस्पोन्स टिम (क्युआरटी) र १२ वटा ट्राफिक र्‍यापिड स्क्वाड परिचालन गरिएको छ।

यस्तै उपत्यकाका विभिन्न ३६ स्थानमा जनपद प्रहरीसँग संयुक्त चेक प्वाइन्ट राख्नुका साथै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सेक्टर अनुसार नियमित अनुगमन भइरहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.