|

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाउने भएको छ।

आज बसेको समितिको बैठकमा विज्ञहरुको राय लिएर जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज रिकभरका लागि प्रक्रिया अघि बढाउन लागिएको समितिका सचिव सुरेन्द्र अर्यालले थाहाखबरलाई जानकारी दिएका छन्।

आज नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको व्यवस्था गरे रिकभर हुनसक्ने सुझाव दिएपछि समिति त्यसतर्फ अघि बढेको हो। यसका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालालाई अर्थमन्त्रालयबाट समितिलाई प्राप्त हार्डडिस्क र फाइल उपलब्ध गराइने भएको छ।

समितिले जेठ महिनाको फुटेज मगाए पनि मन्त्रालयले असार महिनाको मात्र फुटेज दिएपछि मागिएकै समयकाे फाइल पत्ता लगाउने प्रयास अघि बढेको हो। मन्त्रालयमा सिसिटिभी मेटिएकाे भन्ने जानकारी आएकाले साेकाे रिकभर गर्न समिति जुटेकाे छ।

यसअघि समितिले मन्त्रालयका कर्मचारीको बयान लिनुका साथै त्यहाँको अवलोकनसमेत गरिसकेको छ।

चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको भन्दै चौतर्फी विरोध भएपछि ११ सदस्यीय संसदीय समिति बनाइएको थियो।

संसदीय छानबिन समिति बनेपछि शर्माले पदबाट राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.