|

दाङ : सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु गरेको छ।

समूह सहकारीमार्फत जडिबुटी खेती विस्तार कार्यक्रम कार्यान्वयनका सिलसिलामा सामुदायिक वन समूहमा आवद्ध घरधुरी र कृषि सहकारीमा आवद्ध घरधुरीलाई केन्द्रित गरी बजार माग अत्याधिक रहेको तरकारी खाने कुरिलोको व्यावसायिक खेती शुरु गरिएको हाे।

घोराही उपमहानगरपालिका अखबरेमा रहेको बसन्त हरियाली सामुदायिक वनमा खाली रहेको करिब २ हेक्टर क्षेत्रफलमा ६ हजार २०० कुरिलोको बेर्ना, श्रीखण्ड वृक्षारोपण गरिएको क्षेत्रमा रोपण गरिएको छ।

यसैगरी घोराही उपमहानगरपालिका ४ मा रहेको श्रमजीवी कृषि सहकारी समूहमा आबद्ध ३१ घरधुरीले आफ्नो कृषि वालीसँगै तरकारी खाने कुरिलो ७ हजार ५०० को सङ्ख्यामा लगाएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए।

वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको ४ लाख र डिभिजन वन कार्यालयको थप २५ प्रतिशत लगानी तथा समूहका उपभोक्ताहरूको सहभागितामा ६ हजार २०० कुरिलोका बेर्ना रोपिएको छ। अहिले लगाएको कुरिलोका बेर्ना मध्ये २५ प्रतिशत मर्न सक्ने हुँदा ४ हजार ५०० भन्दा बढी बिरुवा वसन्त हरियाली सामुदायिक वनमा र करिव ५ हजार ७०० श्रमजीवी कृषि सहकारी संस्थामार्फत गरिएको वृक्षारोपणबाट सजिलै हुर्कने आँकलन कार्यालयको छ।

लगाएको २ वर्षसम्म कुरिलोलाई राम्ररी मलजल र गोडमेल गरेको खण्डमा प्रति १० बोटबाट एक किलो कुरिलो संकलन हुने र एउटा बोटबाट वर्षमा कम्तीमा ६ देखि ८ हप्तासम्म कुरिलोको टुसा संकलन गर्न सकिने भएकाले यसबाट कम्तीमा वार्षिक साढे १३ सय किलो कुरिलो उत्पादन हुनेसमेत कार्यालयले जनाएको छ।

वसन्त हरियाली सामुदायिक वनले ४ हजार किलोग्राम र श्रमजीवी कृषि सहकारी संस्थाले २ देखि  ६ हजार किलोसम्म उत्पादन गर्न सक्ने कार्यालयका सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिए।

उनका अनुसार अहिले कुरिलोको बजार मूल्य र थोकमा प्रति किलो ५ सय रुपैयाँ रहेको छ।

यसरी उत्पादन भएको कुरिलोबाट वन समूहले वार्षिक कम्तीमा ६ देखि २० लाखसम्म र कृषि सहकारी संस्थाले वार्षिक १० देखि ३० लाख आम्दानी गर्नसक्ने सूचना अधिकारी केसीले जानकारी दिए। उनले समूह तथा सहकारीमार्फत जडिबुटीको व्यवसायिक खेती विस्तारमार्फत समुदायको जीविकोपार्जनमा सहयोग गर्ने लक्ष्यका साथ यो वर्षदेखि कुरिलो खेती अघि बढाइएको पनि बताए।​

कुरिलोको संरक्षणका लागि कार्यक्रमबाटै वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई करिव २ सय मिटर मेस वायरबाट तारबार गरिएको छ। भने श्रमजीवी कृषि सहकारी संस्थालाई संरक्षण एवं रोपनी प्रोत्साहन सहुलियत भनी प्रति बिरुवा २० का दरले अनुदान सहुलियत र कृषकको बारीसम्म ढुवानी खर्चसमेत डिभिजन वन कार्यालयले उपलब्ध गराएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।

५४० जना उपभोक्ता रहेका बसन्त हरियाली वन समूह २८८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। भने ३१ घरधुरी सम्मिलित श्रमजीवी कृषि सहकारी संस्था घोराही ४ का कृषकहरूको करिव ३.५ हेक्टर क्षेत्रफलमा कुरिलो खेती विस्तार कार्य सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.