|

काठमाडौं : नाटक हेर्न गएका दर्शकहरूलाई एउटा घण्टीको प्रतीक्षा हुन्छ। जुन घण्टी एकैछिनमा नाटक शुरु हुने र दर्शकलाई हलभित्र छिराउने संकेत पनि हो। 

राजधानीस्थित सर्वनाम थिएटरमा बुधबार झण्डै २८ महिनापछि घण्टी बज्यो। कोरोनाका कारण लामो समयसम्म नाटक मञ्चन नभएको सर्वनाममा अशेष मल्लको निर्देशनमा तयार भएको गीति नाटक 'सपना अनेक अनेक'को प्रिमियरमा लामो समयपछि उक्त घण्टी बजेको हो।

कोरोनापछि अन्य नाटकघरहरूले नियमित नाटक मञ्चन थालिसके पनि सर्वनाममा भने नाटक मञ्चन भएको थिएन। नाटक मञ्चन नभए पनि यो बीचमा नाटक प्रशिक्षण तालिम भने नियमित रुपमा भइरहेको थियो। साथै नाटकघरको मर्मत पनि यही समयमा भयो। 'सपना अनेक अनेक'को मञ्चनसँगै सर्वनामले कोरोनाकालपछिको नयाँ यात्रा शुरु गरेको छ। 

गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित नाटक ४ दशकभन्दा लामो समयदेखि रंगकर्म गर्दै आएको सर्वनामको पहिलो गीति नाटक हो। मल्लको परिकल्पना तथा निर्देशन रहेको नाटकमा सत्यराज आचार्य र बानिका प्रधानको आवाज रहेको छ जसमा संगीत राजु सिंहले भरेका हुन्। बुधबार भएको नाटकको प्रिमियरमा साहित्य, संगीत तथा नाट्य क्षेत्रका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। 

नाटकमा सहज र सुविधासम्पन्न जीवनको सपना देख्दै विदेश जाने नेपालीहरूको कथा रहेको छ। आफ्नो सपनालाई पछ्याउँदै अमेरिकाको न्युयोर्क शहर पुगेको पात्रको दृष्टिविन्दुबाट नाटकलाई देखाइएको छ। जसमा उसका श्रीमती र छोरी पनि मुख्य पात्र हुन्। न्युयोर्क शहर पुगेको एउटा पात्रको कथा भए पनि नाटकले अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोप मात्र नभएर सपना पछ्याउँदै जापान, कोरिया, दुबई, कतार सबैतिर पुगेका नेपालीहरूको कथा भन्ने प्रयास गरेको छ।

नाटकमा एकदमै कम प्रप्स छन् जसको प्रयोग बहुआयामिक तरिकाले गरिएको छ।  

मञ्चमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा, मिलन शाक्य, निरीक्षा घतानी र शूँ गू रहेका छन्। जसको कोरियोग्राफी प्रमिला कार्की उप्रेतीले गरेकी हुन्। 

साउन २१ गतेसम्म चल्ने नाटक बिहिबारदेखि नियमित रुपमा मञ्चन हुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.