टुंगियो सर्वदलीय बैठक‚ फेरि छलफल गर्ने

|

विराटनगर : प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठक पुनः छलफलमा बस्ने गरी टुंगिएको छ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरण लागि सहजीकरण गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएका थिए। छलफलमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी थिए।  

करिब अढाइ घण्टा लामो छलफल नामकरणको निष्कर्षमा पुग्न थप छलफलको आवश्यकता महशुस भएको भन्दै सरकार र दलहरूले छलफललाई निरन्तरता दिने निर्णयसहित छलफल टुंगिएको हो। प्रदेशको नाम के राख्ने भन्ने विषय आजै टुंगोमा नपुगेको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बताए।

सभामुख भण्डारीले छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै छलफल र अन्तरक्रियालाई घनिभूत छलफल गराएर सहमति गराएर नाम राख्न अगाडि बढ्ने  छलफलमा टुंगो लागेकोसमेत बताए।

‘आजको बैठकले नामको विषयमा घनिभूत छलफल गरेर सहमति गराएर नाम राख्न अगाडि बढाउने भन्ने छलफल भयो,’ उनले भने, ‘८ गते बस्ने प्रदेशसभा बैठकमा नामकरणको विषयमा प्रस्ताव आउँदैन। उनले थपे, ‘दलसँग पुनः बैठक कहिले बस्ने भन्ने अब सल्लाह गर्नुपर्छ।’

नामको विषयमा छलफल नगरी प्रक्रियामा नजाने भन्ने विषयमा बैठक टुंगो लागेको नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए। आफ्नो दलले नामको विषय लिएर प्रक्रिया शुरु गरौँ भन्ने धारणा राखे पनि सरकार पक्षले नामको विषय सहमतिमा नगए प्रक्रियामा नजाने  प्रतिक्रिया राखेको उनले बताए।

‘हामी काँग्रेसले नामको विषयलाई लिएर प्रक्रियामा जाउ भनेका हौँ‚ प्रक्रियामा गएपछि छलफल दलगत रुपमा अगाडि बढ्दै जान्छ त्यसैबाट टुंगोमा पुगिन्छ,’ उनले भने, ‘सरकारबाट चाहिँ सहमतिमा नगइ नामको प्रक्रियामा अगाडि जान गाह्रो छ भन्ने कुरा आयो र फेरि छलफलमा बस्ने भनेर बैठक सकिएको छ।’

यता नेकपा एमालेका सांसद एवम् पूर्वमन्त्रीसमेत रहेका जीवन घिमिरेले यही चालू अधिवेशनमा प्रदेशको नाम टुंगो लगाउनुर्छ भन्नेमा एमाले दृढ रहेको बताए। नाम टुंगो लगाउनुपर्छ भन्ने विषयमा अन्य दल पनि सहमतिमा पुगेको बताउँदै उनले तुरुन्तै प्रक्रिया आरम्भ गर्ने या सबैको सहमतिका लागि प्रयास गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए।

‘छलफलमा अहिले नै प्रकियामा जाने या सहमति जुटाएर प्रक्रियामा जाने भन्ने छलफलमा कुरा आयो,’ उनले भने, ‘सहमतिपछि नामको प्रक्रियामा प्रवेश गर्ने निष्कर्षमा पुगेका छौँ।’ छलफल गर्दागर्दै समय सकिँदैन भन्ने प्रश्नमा उनले भने, ‘सकिँदैन‚ मलाई जहाँसम्म लाग्छ हामी एउटा सहमतिमा पुग्छौँ।’

खराब नाम हुनुभन्दा नहुनु राम्रो : मुख्यमन्त्री राई

आजको बैठक सकारात्मक भएको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्। आजको बैठकले नामकरणको विषयमा लचकता देखिएको बताउँदै गर्दा मुख्यमन्त्री राईलाई ‘तपाईं आफू चाहीँ कतिको लचिलो हुनुहुन्छ?’ भन्ने प्रश्नमा उनले प्रदेशको नाम राख्ने सन्दर्भमा आफू लचिलो रहेको बताउँदै उनले खराब नाम आउनुभन्दा प्रदेशको नाम अर्को संसदलाई दिनु राम्रो रहेको बताए।

‘म यो विषयमा पूर्ण रुपमा लचिलो नै छु तर फेरि एउटा कुरा चाहीँ प्रष्ट छ- खराब नाम हुनुभन्दा अर्को संसदलाई दिनु राम्रो हो,’ उनले भने, ‘यसमा म लुकाइछिपाइ बोल्ने मान्छे होइन, जनताले चाहेकोभन्दा बेठिक नाम आउनु भएन।’

जनताको भावनाविपरीत विचार लिएर आफू संसद नछिरेको बताउँदै मुख्यमन्त्री राईले भने, ‘म बहुपहिचानको पक्षमा भोट मागेर जितेको भएकाले पनि प्रदेशको नाम पहिचानविरोधी आउनु भएन।’

७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ का प्रदेशसभा सदस्य र प्रदेश सरकार यही अधिवेशनमा नाम टुंगो लगाउने कसरतमा जुटेका छन्। यता पहिचानवादी दलहरू भने प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.