|

सुनसरी : स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरूले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन्।

इनरुवा नगरपालिकाका करार कर्मचारीहरू गत १० दिनयता निर्वाचित जनप्रतिनिधिले आफ्ना मान्छे बाहेक अरूलाई निकालेको भन्दै आन्दोलन गरेका हुन्।

कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प छ। करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिँदा नगरसहित वडाको कामकाज प्रभावित बनेको हो।

कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निष्काशित कर्मचारीले आन्दोलन गरिरहेका छन्। निष्काशनमा परेका कर्मचारीले राजनीतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेकलाई हटाइएको आरोप लगाएका छन्।

नगरपालिकाका मेयर केदार भण्डारीले नगरपालिकालाई त्यति धेरै कर्मचारीको आवश्यकता नपरेकाले हटाएको बताए। उनले नगरपालिकाले आर्थिक भार व्यहोरेर त्यत्तिका मात्रामा कर्मचारी राख्न नसक्ने बताए। उनले करार म्याद थप नहुने दाबी गरे। नगरपालिकाले सूचना प्रकाशित गर्दै साउनको १ गतेबाट लागू हुनेगरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो।

नगरपालिकाले ५७ जनालाई हटाए पनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको छ। विवादको समाधानका लागि मेयर भण्डारीले भने २० गतेसम्मको समय माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.