|

काठमाडौं : चालु आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर  प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज पनि बस्दै छ। दुई दिनमात्र म्याद रहेको समितिको बैठक आज विहान ११ बजे बस्न लागेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। 

समितिले आज प्रतिवेदन लेख्न सुरु गर्ने जनाएको छ। बजेट घोषणा भएको अघिल्लो दिन जेठ १४ गते राति सिंहदरबार प्रवेश गरेको शंकास्पद व्यक्तिबारे  विस्तृत बुझ्ने तयारी समितिको छ।

बुधबारको बैठकमा सीसीटीभीको रिकभर फुटेजमा एक शंकास्पद गाडी देखिएको र त्यस विषयमा विस्तृत बुझेर निष्कर्ष निकालिने समितिका एक सदस्यले जानकारी दिए। 

आरोपी निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासहित विभिन्न व्यक्तिसँग लिइएको बयान, अर्थ मन्त्रालयको सीसीटीभीको रिकभर रिपोर्ट लगायत विषयलाई समेटेर प्रतिवेदन तयार गरिने छ।

प्रतिवेदन सकेसम्म सबै सदस्यको सहमतिका आधारमा लेख्ने समझदारी बनेको समितिका सचिव अर्यालको भनाइ छ। यद्यपि, सदस्यहरुले आ–आफ्नो राय भने राख्न पाउनेछन्। 

समितिका एमालेतर्फका सदस्यले भने सत्तापक्षले प्रमाण लुकाएको आरोप लगाएका छन्। उनीहरुले सत्ताको आडमा कांग्रेस र  माओवादी केन्द्रका समिति सदस्यहरुले प्रमाण लुकाएको आरोप लगाएका हुन्।

पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए। सोही दिन छानबिनका लागि ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक ७ दिनका लागि थपिएको छ। समितिको पहिलो पटकको म्याद साउन ५ गते सकिएकोमा पुनः ७ दिनका लागि थप गरिएको थियो। समितिको म्याद भोलीसम्म छर समितिले अब म्याद थप गर्नका लागि आग्रह नगरी दोस्रो पटकका लागि थपिएको समयमै प्रतिवेदन बुझाउने तयारी गरेको छ। 

समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सांसदहरु प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक सदस्य छन्।

सत्ता गठबन्धनका दल नेपाली कांग्रेसबाट मानबहादुर विक र सीताराम महतो, माओवादी केन्द्रबाट देव गुरुङ र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट सरला यादव र  जनता समाजवादी पार्टीका डाक्टर सुरेन्द्र यादव सदस्य छन्। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण सदस्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.