देउवाले बालुवाटारमा बसेर गुटबन्दी गरेको आरोप

|

पर्सा : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा माओवादी र नेकपा एकीकृत समाजवादीको दाबी गरेअनुसार तालमेल हुन नसक्ने प्रष्ट पारेका छन्। 

प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि र प्रदेशसभाको प्रदेशको निर्वाचनमा कांग्रेसका तीन सर्त माने मात्र चुनावी तालमेल हुनसक्ने बताए। 

उनले भने, ‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिँदैछौँ। मलाई लाग्छ मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ। त्यसमा  कांग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जानसक्छौँ। किनकी गठबन्धनमा जाने भनेका छौँ। तर सबभन्दा कम क्षति हुनेगरी कसरी जाने भन्ने हामीहरू छलफल गरिराखेका छौँ। केन्द्रिय समितिमा पनि छलफल भएको छ।’

उनले आर्थिक सामाजिक रुपान्तरण, वैदेशिक नीति र कांग्रेस नेतृत्वको ५ वर्ष स्थिर सरकार बन्नुपर्ने अडान पेश गरे। 

‘गठबन्धन त गर्ने भनेर भन्यौँ, तर जसरी माओवादीले या एकीकृत समाजवादीले या जनता समाजवादीले कुराहरु उठाइरहनुभएको छ। उहाँहरुलाई के लागिराखेको छ भने हामी नै सबैकुरा हो भन्ने पनि लागिराखेको छ। त्यस्तो होइन’ उनले भने, ‘कांग्रेस ठूलो पार्टी हो। पुरानो पार्टी हो। अहिले स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको छ। त्यसकारण हामी सबैलाई समेटेर हिँडौँ भन्ने हामीहरूको सोच। तर कांग्रेसलाई कम क्षति भएर जाओस् भन्ने मात्रै हो हामीहरूको सोच।’

देउवाप्रति आक्रोश 

उनले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै गुटको राजनीति आफूले मात्र नगरेको दाबी गरे। बालुवाटार भित्र बसेर गुटको राजनीति गर्नेका विरुद्ध मिडियाकर्मीले पनि बोल्ने आँट नभएको आरोप लगाए। 

उनले भने, ‘डेमोक्रेटिक मुलुकका पार्टीहरू भित्र समूहगत छलफल भेला र राजनीति त हुन्छ। तर त्यो पार्टी हित विपरित र मुलुकका विरुद्ध चाही हुनु हुँदैन। मैले पार्टी प्यालेसमा, मेरो अफिसमा विचार मिल्ने साथीहरुको भेला गरी छलफल गरें भने त्यो गलत हुँदैन।’ 

नागरिकता विधेयकबारे

नागरिकता विधेयक पास भएको सन्दर्भमा भने उनी सकारात्मक देखिए। २००९ सालदेखि अहिलेसम्म ४ लाख ४० हजार अंगीकृत नागरिकता वितरण भइसकेको बताए। 

‘नागरिकताको विषयमा हरेक देशको आ-आफ्नो नीति हुन्छ। नेपालमा दक्षिण तर्फबाट आएकाको मात्र समस्या हेर्ने गरिएको छ। उत्तरबाट पनि त आएका छन् नि। अरु देशबाट पनि आएका छन्’ उनले भने। 

नागरिकता विधेयकबारे अन्यथा मान्नु पर्ने अवस्था नभएकाे बताए। उनले यस्तै अवस्थामा चलिरहे संघीयता धरापमा पर्न सक्ने चेतावनी समेत दिए। 

‘मैले मात्र संघीयता धरापमा पर्छ भनेको होइन। मधेश प्रदेशका मुख्यमन्त्रीले बोल्नु भएको छ। अरूले पनि बोलेका छन्। अधिकार बिहिन ढंगले मात्र संघीयता दिगो हुन सक्दैन’ उनले भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.