|

रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वर्षा याममा हुने सानातिना बाढी, पहिरोको समस्या तत्काल हल गर्ने उदेश्यले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।

गएको साताबाट सुरु गरिएको पूर्वाधार एम्बुलेन्स सेवा मार्फत कामकाज पनि सुरु भइसकेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए। पूर्वाधार एम्बुलेन्स सेवाको लागि ६ जनाको टोली गाउँपालिकाले खटाएको छ।

अध्यक्ष रेग्मीका अनुसार एकजना प्राविधिक सहित ट्याक्टर र जेसीबीका एक-एकजना चालक र अन्य तीन जना कामदार खटाइएको छ। यो टिमले गाउँपालिका भित्रको जुनसुकै ठाउँमा बाढीपहिरो जाँदा र कोही कसैको घरमा क्षति भयो भने तत्काल सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा क्षतिको विवरण सङ्कलन गर्ने छ। साथै सडक पुगेको जुनसुकै ठाउँमा पनि पहिरो झरेर यातायात सेवा अवरुद्ध भएको खण्डमा तत्काल यातायात सेवा सुचारु गर्ने गाउँपालिका अध्यक्ष रेग्मीले बताए।

गाउँपालिका भित्र हुने सानातिना सबै खाले विपदका घटनामा सहयोगको लागि यही एम्बुलेन्स समूहको टोली सहयोग गर्न पुग्ने गाउँपालिकाले जनाएको छ। ठूलै घटना भएको खण्डमा भने गाउँपालिकाको अन्य टिम सहित जिल्लाको टोली पनि खटिने छ।

बर्खाको समयलाई मध्येनजर गर्दै साउन, भदौ महिनाको लागि यो सेवा सुचारु गरिएको हो। यो सेवा प्रभावकारी हुँदै गएमा सेवा अवधि थप गर्ने पनि रेग्मीको भनाइ रहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.