|

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले प्रत्येक निजी विद्यालयमा ‘एक आइटी, एक लाइब्रेरियन’ उत्पादन गर्ने भएको छ। प्याब्सनले यसका लागि तालिम प्रदान गर्न बुधबार आइटी महासंघ नेपाल र लाइब्रेरी डेभलपमेन्ट फोरमसँग सम्झौता गरेको छ।

प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले नयाँ कार्यसमिति बनेपछि शिक्षामा फरक ढंगले गुणस्तरीयता बढाउन नीतिगत कार्ययोजना बनाएर पास गरी यी संस्थासँग सहकार्य गर्न लागेको जानकारी दिए।

‘हामी शिक्षालाई फरक ढंगले नयाँ प्रविधिको प्रयोगबाट अगाडि बढ्ने योजना बनाएका छौँ, विद्यालयको मुख्य तत्व लाइब्रेरी हो, यो आवश्यक छ,’ उनले भने।

उनले अबको ३ वर्षभित्र ५ हजार आइटी र ५ हजार लाइब्रेरियन गरी १० हजार जनशक्ति उत्पादन गर्ने जानकारी दिए। उनका अनुसार अहिले देशभर प्याब्सनका ५ हजार सदस्य छन्।

लाइब्रेरीको तालिमपछि ती तालिमप्राप्त व्यक्तिले विद्यालयको लाइब्रेरी व्यवस्थापन गर्नुपर्ने उनले बताए। पालिका स्तरबाट तालिम सञ्चालन गरिने उनको भनाइ छ। ‘आइटी तालिमलगायत सबै यी योजनामा भदौबाट काम शुरु गर्ने छौँ,’ उनले भने। 

उनले केही दिनमै राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्रलगायत निकायसँगको समन्वयमा कसरी शिक्षकले प्रश्नपत्र निर्माण गर्ने र पाठ्यक्रमका विषयमा अन्तरक्रिया कार्यक्रम राख्ने बताए।

प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवालले विस्तारै यस्ता तालिममा सरकारी विद्यालयलाई पनि सहभागी गराउने र समन्वय गर्दै जाने बताए। सम्झौता हस्ताक्षर कार्यक्रममा लाइब्रेरी डेभलभमेन्ट फोरमका कार्यकारी निर्देशक यज्ञराज भट्टले विद्यालयमा लाइब्रेरीको धेरै महत्व रहेको बताए।

‘विद्यालय वा अन्य संघसंस्थामा पुस्तकालय मात्र राखेर हुँदैन, पुस्तक कुर्ने मात्र व्यक्ति हुँदैन, कुन पुस्तक आवश्यक पर्छ भनी अध्ययन अनुसन्धान गर्ने जनशक्ति पनि चाहिन्छ। यही जनशक्ति हामी तालिम दिइ उत्पादन गछौँ,’ उनले भने।

बाहिर देशमा पुस्तकालयको धेरै महत्व भए पनि नेपालमा अझै पुस्तकालय राख्ने अभ्यास नभएको उनले बताए। आइटी महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजु कुशवाहाले नेपालमा कोरोनापछि आइटीको महत्व झनै बढ्दै गएको बताए।

उनले भने, ‘आइटी हरेक क्षेत्रको विकासमा आवश्यक छ, झनै कोरोनाले गर्दा यहाँ आइटीको आवश्यकता देखाएको छ।’ उनले अनुभवी व्यक्तिबाट तालिम प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.