|

काठमाडौं : नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन्।

नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ औँ वार्षिकोत्सवको अवसरमा बुधवार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो।

सोही अवसरमा नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त गरे । कार्यक्रममा रातोपाटीका कुवेर गिरी ‘रंग पत्रकारिता सम्मान’, सहनाई वादक तथा पञ्चे बाजाका अग्रज आइत बहादुर परियार ‘लोक संस्कृती सम्मान’ बाट सम्मानित भएका थिए । गणतन्त्र नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा, प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसी, निर्देशक नारायण पुरी लगायतले सम्मान पत्र तथा दोसल्लासहित सम्मान प्रदान गरेका थिए।

विभिन्न जातीका लोक बाजा तथा नृत्यसहित सुरु भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव नृपध्वज खत्रीले २०६५ मा स्थापना भएको प्रतिष्ठानले मेचीदेखि महाकालीसम्म विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी दिए।

त्यस्तै पूर्व उपराष्ट्रपति झाले नेपाल लोक सांस्कृतिक प्रतिष्ठानले डेढ दशकदेखि नेपाली कला संस्कृतिको उत्थान गर्दै आएको थाहा पाउँदा आफू निकै हर्षित भएको बताए । 

प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीले प्रतिष्ठान मार्फत नेपाली लोक कला तथा सस्कृतिलाई विश्वमाझ चिनाउन पाउदा आफूलाई निकै खुशी लागेको बताए । उनले नेपाली मौलिक लोक संस्कृतिको क्षेत्रका बिभिन्न क्षेत्रमा योगदान गर्नेलाई आगामी दिनमा पनि विभिन्न कार्यक्रम गरेर सम्मान गर्ने बताए।

ईभेन्ट निर्देशक निशुकान्त झा, कलाकार कृष्ण रसाल, गायक शिशिर योगीले समेत सम्मान पत्र प्राप्त गरेको कार्यक्रममा वर्माकी नेपाली भाषी गायिका डीना चौलागाईं, नेपाल समाचारपत्रकी रश्मी थापा, वाद्यवादक न्हुच्छे राजा मुनिमर लगायत कदरपत्रबाट सम्मानित भए भने विभिन्न संघ संस्था तथा व्यक्तिलाई ‘मायाको चिनो’ प्रदान गरेका थिए।

गायक शिशिर योगी, कृष्ण रेउले, सुनिता परियारलगायतले गीत प्रस्तुत गरेको कार्यक्रममा भैरवकाली, हुड्केली, लाखे, कौडा, चण्डी लगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.