|

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। 

काठमाडौंमा बिहीबार आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ अन्तरक्रियामा उनले शासन व्यवस्था र लोकतन्त्र बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने बताएका हुन्। 

अहिले मतदाताहरूमा दलगत मतदान गर्ने अरुचि देखा परेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि राजनीतिक दलहरूले आगामी निर्वाचनहरूमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको अधिक प्रतिनिधित्व गराउने कुरामा जोड दिए। 

‘आगामी संघको र प्रदेशसभाको निर्वाचनमा दलहरूले महिलालाई बढीभन्दा बढी प्रतिनिधित्व गराउन जोड गर्नुपर्दछ। यो राष्ट्रका लागि, लोकतन्त्रका लागि र यो बहुआयामिक विकासका लागि पनि महत्वपूर्ण कुरा हो। यो काम पार्टीले नै गर्नुपर्छ। व्यक्ति होइन, पार्टीले जोडबल गर्नुपर्छ महिलाको प्रतिनिधित्व बढाउनका लागि। दलगत मतदानमा अहिले जुन अरुचि देखा परेको छ नि‚’ उनले भने, ‘यो हाम्रो व्यवस्थाका लागि समस्या हो। यो समस्या हल गर्नका लागि धेरै कुराहरू छन्।’

उनले जनताप्रति उत्तरदायी हुन पनि जनप्रतिनिधिहरूलाई सचेत गराए। जनप्रतिनिधिहरूको जीवनस्तरमा परिवर्तन आए पनि जनताको जीवनमा खासै परिवर्तन नआएकाले उनीहरूले गरेका हरेक प्रश्नको जवाफ जनप्रतिनिधिहरूले दिनुपर्ने बताए। 

उनले भने, ‘हामी जनप्रतिनिधिहरूले जनताप्रति उत्तरदायी हुनैपर्छ। जनताको १/१ प्रश्नको उत्तर हामीले दिनैपर्छ। जनताप्रति जवाफदेही हुने र उनीहरूको विश्वास लिएर मात्रै अघि बढन सकिन्छ।’

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता अधिक गराउन राजनीतिक दलहरूको गम्भिर ध्यानाकर्षण गराइन्।

समाजमा विद्यमान महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन पनि राजनीतिक दलहरूले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको अधिक सहभागिता गराउन पहल गर्नुपर्ने उनले स्पष्ट पारिन्। 

‘समानुपातिक निर्वाचन प्रणाली सँगसँगै प्रत्यक्ष निर्वाचनको माध्यमबाट पनि महिलाहरुलाई कसरी नेतृत्वको लागि अवसर प्रदान गर्ने भन्ने कुरालाई राजनीतिक दलहरूले प्राथमिकता दिनुपर्दछ। समाजमा विद्यमान मनोवैज्ञानिक दृष्टिकोणलाई बदलेर लैजान पनि आगामी निर्वाचनमा महिलाको सहभागितामा जोड दिनुपर्ने हुन्छ‚’ उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.