|

कञ्चनपुर : नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संघ र प्रदेशको चुनावमा वाम गठबन्धन नहुने बताएका छन्।

बिहीबार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको सम्मेलनमा बोल्दै उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)कै कारणले बाम गठबन्धन सम्भव नरहेको बताएका हुन्। 

‘एउटै विचार भएकाहरू एक हुनुपर्छ, एउटै समूह बनाएर हिँड्नुपर्ने आवश्यकता त हो’, उनले भने, ‘तर आफूलाई वामपन्थी भन्नेहरूकै कारणले वाम गठबन्धन सम्भव छैन, कांग्रेससँग बार्गेनिङ गर्नका लागि माओवादीले वाम गठबन्धनको हल्ला चलाइरहेको छ।’

सरकारले संघ र प्रदेशको निर्वाचनको मिति तोक्न पनि नचाहेको ज्ञवालीको आरोप छ। ‘सरकारले अहिलेसम्म चुनावको मिति घोषणा गर्न सकेको छैन, सरकारमै रहेका केही दल चुनावको मिति धकेल्नेतर्फ लागेका छन्’, उनले भने, ‘चुनावको मिति नतोकेर सरकारमा रहेका केही दल चुनावमा धाँधली गर्ने रणनीति बनाइरहेका छन्, सरकारले चुनावको मिति छिटोभन्दा छिटो तोक्नुपर्छ।’

परमादेशी सरकार’ले स्थानीय चुनावमा धाँधली गरेको उनको भनाइ छ। ‘स्थानीय तहको चुनावमा विभिन्न जालझेल भए, पैसाको चलखेल भयो’, उनले भने, ‘प्रदेश र संघको चुनावमा पनि धाँधली गर्ने संकेत सरकारले गरेको छ, एमाले त्यसको प्रतिकार गर्छ।’ 

एमाले संघ र प्रदेशको चुनाव केन्द्रित भएको उनको भनाइ छ। ‘हामी चुनाव केन्द्रित कार्यक्रम गरिरहेका छौँ, सबै प्रदेश र जिल्लामा प्रशिक्षण गरिरहेका छौं’, उनले भने, ‘प्रशिक्षणका कार्यक्रमहरू पालिका, वडा हुँदै टोलसम्म लग्ने हाम्रो योजना छ।’

गठबन्धनसँग एमाले एक्लै चुनाव लड्ने उपाध्यक्ष ज्ञवालीले बताए। ‘एमाले शक्तिशाली छ। त्यो विपक्षीले पनि बुझेका छन्। त्यसैले गठबन्धन गरेरै जाने उनीहरूको योजना छ’, उनले भने, ‘विपीले नेतृत्व गरेको कांग्रेस पार्टी समेत एक्लै चुनाव लड्न नसक्ने अवस्थामा पुगेको छ, उनीहरूलाई लाज लाग्नुपर्छ।’

सरकारले हालै पारित गरेको नागरिकता विधेयकको एमालेले विरोध गर्दै आएको उनको भनाइ छ। ‘नेपाली छोरीहरूले बाह्य देशका नागरिकसँग बिहे गर्दा नागरिकता पाउन ७ वर्ष कुर्नुपर्छ’, उनले भने, ‘तर परमादेशी सरकारले भारतीयलाई एकै दिनमा नागरिकता दिने गरी विधेयक ल्याएको छ। एमालेले त्यसको विरोध गर्दै आएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.