|

धनकुटा : फेब्रिकको झोला पछिल्लो समय प्लाष्टिकको झोलाको विकल्प बन्दै गएको छ। तर, फेब्रिकका झोला मात्र हैन माला बन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ।

धनकुटामा भने फेब्रिकको सुन्दर माला निर्माण गर्ने गरिएको छ। माला भन्ने बित्तिकै हाम्रो दिमागमा फूल तथा कृत्रिम कपडा वा प्लाष्टिकको माला झट्ट याद आउँछ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ८ देउरालीका महिलाहरुले सामूहिक रुपमा फेब्रिकको माला निर्माण गर्ने गरेका छन्। स्थानीय लक्ष्मी कार्कीको नेतृत्वमा कल्पना चापागाइँ, बालिका थापा, कमला थापालगायतले यो माला बनाउने गरेका हुन्।

महालक्ष्मी नगरपालिकाले दिलाएको तालिमबाट उनीहरुले यो माला बनाउन सिकेका हुन्। हलुका काम भएकाले अन्य काम गर्न नसक्ने व्यक्तिहरुको लागि यो माला आय आर्जनको माध्यम बनेको स्थानीयको बुझाइ छ। ‘अन्य भारी काम गर्न सकिँदैन यही माला बनाउन सहज छ यही बनायो बस्यो', स्थानीय कमला पराजुलीले भनिन्।

उनले दैनिक ६ वटासम्म माला बनाउने गरेको बताउँदै माला बिक्री गर्न कतै जान नपरी घरैबाट बिक्ने गरेको छ।

विभिन्न रङ्गका फेब्रिक मिसाएर आकर्षक माला बन्ने गरेको छ। रंगीचंगी हुने भएकाले यो माला निकै आकर्षक देखिन्छ। झोला बनाउँदा निस्किएका टुक्रालाई एउटै साइजमा काटेर माला बनाउन प्रयोग गरिन्छ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा यो माला लगाएर सार्वजनिक कार्यक्रममा अतिथिको स्वागत तथा सम्मान गर्ने गरिएको छ। त्यस्तै विभिन्न कार्यक्रम सजाउन तथा दशैँ तिहारमा घर सजाउन यो माला प्रयोग हुन थालको छ।

जसले गर्दा यसको माग पनि बढ्न थालेको छ। एक किलो फेब्रिकबाट करिव ८ वटासम्म माला बनाउन सकिन्छ। यसको कच्चा पदार्थ प्रतिकिलो ४ सय रुपैँया पर्छ भने माला प्रतिगोटा १ सय ५० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। त्यहाँ निर्माण भएका माला स्थानीय लक्ष्मी कार्कीले संकलन गरी बिक्री गर्ने गरेको बताउँछिन्।

विभिन्न कार्यक्रममा माला लैजाने गरिएको उनको भनाइ छ। फेब्रिकको माला निर्माण गर्न कुनै मेसिनको आवश्यकता पर्दैन। कच्चा पदार्थसँगै सियो र धागो मात्र भए यो माला निर्माण गर्न सकिन्छ। त्यसैले लगानीको हिसाबले धेरै नै कम लगानीमा यो माला बनाउन सकिन्छ।

विभिन्न कार्यक्रममा सजाउन तथा दशैँ तिहारमा घर सजाउन विदेशबाट वर्षेनी लाखाैँ रुपैयाँको माला आयात गर्ने गरिएको छ। देशमै धेरैलाई यस्तै माला बनाउने उद्यम सिकाए रोजगारसँगै धेरैको आम्दानीको माध्यम समेत बन्ने लघु उद्यम जानकारहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.