|

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको संख्या बढेको छ। लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका हुन्।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा हाल १ सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्। जसमध्ये आधामा भाइरल ज्वरो देखिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।

‘पहिलेको तुलनामा बिरामीको संख्या बढ्दै गएको छ, लक्षण कोरोनासँग मिल्दोजुल्दो छन्। कसै कसैमा कोरोना संक्रमण पनि देखिन थालेको छ‚’ उनले भने, ‘गएको सातादेखि अस्पतालमा बिरामीकोे चाप बढ्दै गएको हो, कुनै कुनै ज्वरोका बिरामी पनि भर्ना गरेर उपचार गर्नु परेको छ।’

​निरन्तर वर्षा भइरहेको र दूषित पानीको प्रयोगले भाइरल ज्वरोका बिरामी बढेका हुन्। उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए। उनले भने, ‘एक हप्तायता स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये धेरै ज्वरो र रुघाखोकीका छन्। भाइरल ज्वरोबाट बालबालिका बढी प्रभावित भएका छन्।’

सरकारी स्वास्थ्य संस्थामा मात्रै नभएर निजी मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनदेखि आफ्नो मेडिकलमा पनि ज्वरोका बिरामी बढ्दै गएका प्रकाश मेडिकल हलका सञ्चालक प्रकाशचन्द्र भट्टले बताए। बालबालिकालाई समेत भाइरल ज्वरोले नछोडेको उनको भनाई छ।

मौसममा परिवर्तन र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो। वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दीपेश श्रेष्ठको आग्रह छ। यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाईमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.