|

बागलुङ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ–बुर्तिबाङ सडक खुलेको करिब २५ वर्ष भयो। ​

घोडाबाँधेदेखि बुर्तिबाङसम्मको सडक कालोपत्रे भइसके पनि बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको करिब २५ किलोमटर सडक अझै उस्तै छ। बागलुङ बजारदेखि ५ किलोमिटर पर पुगेपछि लोकमार्गको दुर्दशा सुरु हुन्छ। यतिबेला याे सडक खण्ड पुरै हिलोले भरिएको छ।

निर्माण कम्पनीले बागलुङ बजारको उपल्लाचौरदेखि घोडाबाधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरे पनि १४ किलोमिटर सडक पार गर्न यात्रुलाई घण्टौँ लाग्ने गरेको छ। सडक राम्रो भए ३० मिनेटको यात्रा हुने यस सडकमा अहिले २ घण्टा पुरै लाग्ने गर्छ।

अहिले खहरेदेखि इनार पानीसम्मको लोकमार्ग सडकमा दर्जनौँ पटक सवारी फस्ने र यात्रुले दुःख पाउने भइरहेको छ। मध्यपहाडी लोकमार्ग समयमै कालोपत्रे सम्पन्न नहुँदा यात्रुले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका छन्।

१४ किलोमिटर सडकमा यात्रा गर्न अहिले दुई घण्टा भन्दा बढी समय लाग्ने गरेको चालक रेशम सुनारले दुखेसो पेखे। उनले सडकको खराब हालतका कारण चालक र यात्रुहरुले बर्खाको समयमा निकै समस्या भोग्नु परेको बताए।

‘हिउँदमा त त्यति धेरै समस्या पर्दैन, जब बर्खा लाग्छ तब तनाव सुरु हुन्छ, अहिले त बजारदेखि ६ किलोमिटर सडक कालोपत्रे भएको छ, त्यसपछि इनार पानीसम्मको सडकमा दर्जनौँ पटक सवारी फस्छ, एउटा सवारी फसेपछि घण्टौँ जाम पर्छ, सवारीलाई निकै मार पर्छ भने यात्रुलाई सास्ती’, उनले भने, ‘समयमै कालोपत्रे भए कति सहज हुन्थ्यो होला, सरोकारवालाको ध्यान सडक कालोपत्रे गर्नमा जाँदै गएन, नत्र त यतिका वर्षसम्म यस्तो अवस्था किन हुन्थ्यो र ?’

ट्रयाक खुलेको २५ वर्षसम्म कालोपत्रे सम्पन्न नभएको भन्दै उक्त सडकले विकासमा नेता र सरकारको ध्यान नभएको भन्ने पुष्टि भएको स्थानीय बताउँछन्।

उनीहरुले नागरिकस्तरबाट समेत सडकको विषयमा चर्को आवाज उठ्दा ठेकेदार कम्पनीले समयमै काम नसक्नु नेतासँगको साठगाँठका कारण हुन सक्ने भन्दै शंका व्यक्त गरे।

बागलुङ बजारदेखि घोडाँबाधेसम्मको सडक ठेक्का सम्झौता भएको ६ वर्षसम्म कालोपत्रे सम्पन्न हुन नसकेपछि बाह्रै महिना स्थानीयले समेत समस्या भोग्नु परेको छ।

सडक छेउछाउका बस्तीहरु हिउँदमा धूलो र वर्षात्‌मा हिलोका कारण बसाइँसराइ गर्नु पर्ने अवस्थामा पुगेका छन्। सडकको असारअघि बल्लतल्ल २५ किलोमिटर सडक मध्ये ११ किलोमिटर मात्रै दुई निर्माण व्यवसायीले कालोपत्रे गरेका थिए।

जिल्ला सदरमुकामको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडकमध्ये घोडाबाँधे बिहुँ खण्डमा ६ किलोमिटर र उपल्लाचौरदेखि खहरेसम्म ५ किलोमिटर सडक गरी जम्मा ११ किलोमिटर थप सडक कालोपत्रे सम्पन्न भइसकेको भएपनि अन्य १४ किलोमिटर सडक असार अघि कालोपत्रे नहुँदा समस्या भएको लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.