|

विराटनगर : सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत सामग्री पठाएको हो। सप्तकोशी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा १५ सय घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकिएको छ। 

मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए। प्रदेश सरकारका  तर्फबाट डुबान प्रभावित क्षेत्रका नागरिकलाई खानले मर्न नदिने बताउँदै मन्त्री कार्कीले भने, ‘सरकार उद्धार र राहतको काममा जुटिरहेको छ र स्थानीय सरकारले नागरिकलाई सुरक्षित ठाउँको पहिचान गर्ने तथा सङ्घ संस्थालगायत सबै नागरिक जिम्मेवार बनेर विपद्को प्रतिकार्यमा जुटौँ।’

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सडक पूर्वाधार तथा शहरी विकासमन्त्री हिमाल कार्कीसहित उदयपुर सुनसरी, मोरङका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिहरू बुधबार घटनास्थलमा नै पुगेर सरकारी संयन्त्रलाई परिचालित गराई विपदमा फसेकाहरूलाई उद्धार गराएका थिए।

अहिले कोशीले बाँध भत्काएर बस्तीमा पसेको स्थानमा २०४५ सालअघि कोशी बग्ने गर्थ्यो। २०४५ सालको भूकम्पपछि कोशफले विस्तारै धार परिवर्तन गरी पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि त्यहाँ घर बनाएर बस्न थालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.