|

काठमाडौं :  सत्तारुढ गठबन्धनमा आबद्ध दलको बैठक आज बस्दैछ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै गठबन्धनका दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। बिहान साढे ९ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको बैठकमा गठबन्धन दलहरुबीच संघ र प्रदेशमा सिट बाँडफाँटका लागि कार्यदल बनाउने तयारी छ।

कार्यदलले सिट बाँडफाँटको मोडालिटी तयार गरेपछि त्यसैअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा सिटको भागवण्डा गर्ने बताइएको छ। गठबन्धनका दलहरुबीच अघिल्लो निर्वाचन जितेका क्षेत्र सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका क्षेत्रमा भागवण्डा गर्ने मोटामोटी सहमति छ।

प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन्। जसमध्ये कांग्रेसले प्रतिनिधिसभामा कम्तीमा ९५ सिट राखेर बाँकी ४ दललाई ७० सिटबाट भागवण्डा लगाउने मनस्थिति बनाएको छ। तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने कांग्रेसलाई ८० सिट दिन तयार देखिन्छन्। प्रदेशसभाको सिट बाँडफाँटमा पनि दलहरु यही अनुपातलाई मिलाएर लैजाने तयारी गरिरहेका छन्।

यसैबीच कांग्रेससँग सिट बाँडफाँटको बार्गेनिङ गरिरहेका गठबन्धनभित्रका अन्य वाम दलहरुले छुट्टै मोर्चा बनाउने गृहकार्य पनि जारी राखेका छन्। एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जानेसम्मको तयारीमा वाम दलहरु जुटे पनि अहिलेसम्मको छलफलमा कुनै प्रगति भने देखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.