सल्यान : सल्यान तरकारी, फलफूल, जडिबुटी तथा पर्यटकीय तथा धार्मिक क्षेत्रका रुपमा परिचित नाम हो। त्यसमा पनि सबैभन्दा बढी बेमौसमी तरकारी खेतीका लागि सल्यान सुपरिचित बन्दै गएको छ।
बेमौसमी तरकारी बजारमा झन्डै ४० प्रतिशत उत्पादन सल्यानले गर्ने गरेको छ। सल्यानमा पनि कपुरकोटले सबैभन्दा बढी तरकारी उत्पादन गर्छ।
कपुरकोटका ३ हजार ५ सय घरधुरीले नै एक सिजनमा ४ हजार मेट्रिक टनभन्दा बढी ताजा तरकारी जिल्ला बाहिर निर्यात गर्ने गर्दछन्।
समुद्र सतहबाट १ हजार २ सय मिटरदेखि करिब १ हजार ८ सय मिटरसम्मको उचाइमा रहेका यहाँका खेतबारीमा किसानले बेमौसमी ताजा तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहेका छन्।
कपुरकोट गाउँपालिका, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाका किसानले कपुरकोटमा ताजा तरकारी तथा फलफूल लगेर बिक्री वितरण गर्ने गर्छन्।
विशेषगरि फागुनदेखि यहाँका किसान तरकारी खेतीमा सक्रिय हुने गर्छन्। उनीहरू खेतबारीमा परिश्रम गरिरहेका हुन्छन् र त्यस क्रममा गाउँघरमा पर्म (बाहुरे) लगाउने चलन पनि छ।
यसले गाउँघरमा आपसी सम्बन्धलाई बलियो बनाउनका साथै सामाजिक एकता र सद्भाव कायम राख्न पनि ठूलै भूमिका खेलिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।