‘परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस्’

|
फाइल फोटो

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। 

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेश भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हुन्। 

उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताए। प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकाले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मद्देनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको बताए। 

गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए। उनले वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनैपनि वृहत वाम एकताको सम्भावना नरहेको दाबी गरे। 

‘गठबन्धनमा दलहरु जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ’ उनले भने, ‘कसैले अपमान फिल गरेमा उ तालमेलमा आउँदैन । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ वाम एकताको लागि सबैभन्दा ठूलो पार्टीले पहल गर्नुपर्ने हो, उसमा त्यो रुची मैले देखिनँ । वृहत वाम एकताको सम्भावना अहिले छैन ।’

परराष्ट्रमन्त्रीकाे भ्रमणबारे 

परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जान लागेको बारेमा यो महत्वपूर्ण भ्रमण रहेको बताए। उनले चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने बताए। 

नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताइवान, तिब्बत चीनकै भएको दाबी गरे। उनले यी क्षेत्रमा जुन कुनै बेलामा पनि चीनले दाबी गर्नसक्ने बताए। 
उनले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने बताए। 

बेलाबेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको बताए। 

‘चीनका केही कोर इन्ट्रेस्टमा कुराहरु छन् । चीनले सबै देशसँग हाम्रा कोर इन्ट्रेस्टमा ध्यान दिनुस्, त्यसका आधारमा हामी मैत्रीपूर्ण सम्बन्ध र सहयोग राख्छौँ भन्ने कुरा गर्दै आएको छ । ऐतिहासिक रुपमा पनि हङकङ चीनको अभिन्न अंग हो । ब्रिटिसले लिएको थियो फर्काइसक्यो । ताइवान त अभिन्न अंग नै थियो । त्यहाँ शासकका विरुद्ध क्रान्ति भएपछि भागेर त्यहाँ बसेका मात्रै हुन् । त्यसैले चीनले जुनसुकै बेलामा पनि त्यो क्षेत्र दाबी गर्ने कुरा आन्तरिक हो । तिब्बत पनि चीनको अभिन्न अंग हो’ उनले भने।  

‘हाम्रो देशका सबै पार्टी र सरकार यी सबै ठाउँहरु चीनका अभिन्न अंग हुन् भन्नेमा छ। नेपाल एक चीन नीति र नेपालको भूमि कुनैपनि मित्रराष्ट्र विरुद्धमा प्रयोग गर्न नदिने कुरामा हामी एकमत छौँ । परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्वपूर्ण भ्रमण हो । हामीले छिमेकबाट लिनसक्ने लाभका बारेमा हामीले सोच्नुपर्छ । परराष्ट्रमन्त्रीको यो भ्रमणले केही राम्रा उपलब्धिहरु हासिल हुनेछ । बीआरआईको बारेमा सम्झौता भएको छ, केहिपनि कार्यान्वयन भएको छैन। सीमाको बारेमा पनि समस्या आउन खोज्छ, त्यसको समाधानको दीर्घकालीन आधार तयार पार्नुपर्छ । सम्भव हुने सहमतिका बारेमा पनि कुरा होस् भन्ने कुरा नेपाली जनताको चाहना हो ।’

भारतले अहिलेसम्म नेपालबाट जाने चियाको लागि ट्याक्स नलगाएको भन्दै भारतबाट प्राप्त भइरहेको सुविधालाई कटौती गर्ने हिसावले भारतको संसदमा संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको भन्दै त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्नकाे लागि प्रधानमन्त्रीलाई भेटेर अनुरोध गरेको बताए।

प्रधानमन्त्रीले यसबारेमा आफू गम्भीर रहेको र भारत सरकारसँग उचित कदम चाल्ने आश्वासन दिनुभएको पनि बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.