|

भक्तपुर : गएरातिको वर्षाका कारण भक्तपुर मनोहरा सुकुमवासी बस्ती डुबानमा परेको छ।

मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुमवासी बस्तीको ८८० घरमध्ये करिब ८०० घर डुबानमा परेको हो।

राति नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य श्रीभक्त कासिछ्वाले मनोहरा नदीको बाढीका कारण राति नै मानिसको भागाभाग भएको बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले यहाँका मानिसको उद्धार गरेको र पर्खाल भत्काएर पानी बाहिर पठाएको जानकारी दिए। ‘राति १२ बजे बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले सुकुम्वासी बस्ती डुबानमा परेको जानकारी दिएपछि उहाँसहित हाम्रो टोली रातिदेखि नै बस्तीमा पसेर उद्धारमा खटियौँ’, उनले भने, ‘दुईवटा डोजर ल्याएर पर्खाल भत्काएर पानी बाहिर पठाउने काम गरियो। बिहानसम्मउद्धारमै खटियौँ।’

सुकुमवासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको छ। कुखुरा र बङ्गुर समेत बगाएको छ।  कासिछ्वाका अनुसार सुकुमवासी बस्तीमा अहिले बिहान खानेकुरासमेत समेत छैन।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मध्यपुरथिमि नगरपालिका–१ र २ का मनहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए। बस्तीमा लत्ताकपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपाया बगाएको तर मानवीय क्षति भने नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.