चीनसँगको सीमा विवादबारे वास्तविकता बाहिर ल्याउनुपर्छ : भीम रावल

|

काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावलले सरकार संविधानमा उल्लेखित कानूनको बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको बताएका छन्। 

नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिनु नेपालको हितमा नरहेको उल्लेख गर्दै यसो गर्नु संविधानविपरीत भएको बताएका हुन्। 

बुधबार काठमाडौंमा नेपाली फिल्म ‘काँडेतार’को बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक देशमा विवाह हुनेबित्तिकै कोही पनि विदेशीलाई देशको नागरिकता दिने प्रावधान नरहेको र नागरिकता प्राप्तिका लागि केही समय कुर्नुपर्ने स्थिति रहेको भन्दै नेपालले ल्याएको संशोधित नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने बताए। 

उनले अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व भएको पनि बताए। 

‘हामीले नागरिकताका बारेमा बारम्बार भनेका छौँ‚ देशभक्त नेपालीले नागरिकता पाउनुपर्छ। तर विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने भन्ने कुरा छ, त्यो हुनु हुँदैन‚’ उनले भने‚ ‘नागरिकता लिन नेपालीसँग विवाह गर्ने महिलाले ७ वर्ष कुर्नुपर्छ भन्दा भारतविरोधी काम भयो भन्न मिल्छ? हरेक देशमा यति वर्षपछि भन्ने त कानून छ। अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व हुन्।’

नेपालले आफ्ना सिमाना नियमन गर्न आवश्यक रहेको उनले बताए। उनले नेपालीहरूले अन्तरराष्ट्रिय कानूनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी रहेको बताए। 

उनले भने, ‘नागरिकताको बारेमा संविधानमा उल्लेखित गर्दा दिएको वचनबाट पछि हट्नु भनेको देशप्रतिको बेइमानी हो। संसारमा कुनै पनि देशले नागरिकतालाई खुकुलो बनाउँदैन। तर नेपाल यति धेरै ठूलो जनसंख्या भएका देशका बीचमा बसेर खुकुलो बनाइरहेको छ।’

सुस्ता, कालापानी, सन्दकपुरलगायत देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा परेको भन्दै बहुमतको बलियो सरकारले सीमा समस्याको समाधानका लागि भारतसँग छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ।

‘सिमानाका सुस्ता, कालापानी, सन्दकपुर अतिक्रमणमा परेका छन्। ७७ भन्दा बढी ठाउँका सिमाना अतिक्रमणमा परेका छन्। हाम्रो सीमा समयमा नै नियमन नगर्ने हो भने मनमोहन नेतृत्वको सरकारले भारतसँग कतिपय कुरा समयानुसार हुनुपर्छ भनेर राख्दा भारतले स्वीकारेको थियो। तर मलाई आश्चर्य लाग्छ, २०५१-०५२ को नेकपा एमालेको अल्पमतको सरकारले त त्यति कुरा उठाएको थियो भने अहिले कति दल मिलेर बनेको बहुमतको सरकारले किन कुरा नउठाएको? सिमाना रक्षाका कुरामा किन बोल्दैनन्? उहाँहरू संवेदनशील हुनुहुन्न‚’ उनले भने।

सीमा रक्षाको कुरामा गठबन्धन सरकार संवेदनशील नरहेको आरोप लगाए। कालापानीमा विदेशी फौज आएर बुलडोजर चलाउँदासमेत सरकार मौन रहेको बताए।

‘कालापानीमा विदेशी फौज आएर मातृभूमिको छातीमाथि बुलडोजर चलाउँदा किन नबोलेको? यो प्रश्न हरेक नेपालीले राजनीतिक दलका नेतालाई सोध्नुपर्छ, सिमानामा केही भयो भन्ने कुरा आएको थियो। परराष्ट्रमन्त्री चीन भ्रमणमा हुनुहुन्छ, त्यहाँ वार्ता गर्नुस् र चीनसँग सीमाका बारेमा केही विवाद भएको हो वा होइन नेपाली जनतालाई खबर दिनुहोस्।’

उनले चीनले परराष्ट्रमन्त्री डा. नारायण खड्का अहिले चीन भ्रमणमा रहेको भन्दै नेपालसँगको सीमा विवादका बारेमा छलफल गरेर वास्तविकता जनतालाई जानकारी गराउनुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.