‘प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तक’

|

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस नेता स्व. प्रदीप गिरि निडर नेता भएको बताए। 

आइतबार बिहान नेता गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका नेता कोइरालाले उनी आफ्नो कुरा स्पष्टसँग राख्नसक्ने निडर नेता भएको बताएका हुन्। गिरीको सादगी जीवनबाट नेपालका राजनीतिज्ञहरुले पनि केही सिक्नुपर्ने उनको भनाइ छ। 

‘उहाँ निडर मान्छे। पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने पनि थिएन। त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पार्टीभन्दा अलिकति माथि भन्ला यो आफ्नो ठाउँमा छ। र उहाँबाट हामीले सिक्नुपर्ने भनेको सादगी जीवनपनि हामीले सिक्नुपर्नेछ’ उनको भनाइ छ। 

त्यस्तै, गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणले गिरी नेपाली राष्ट्रियताको संवद्र्धन र जनताको अधिकारलाई स्थापित गर्न जीवनभर लागिरहेको बताए। गिरीले कांग्रेसलाई समावेशी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए। उनको निधनले सिंगो देशलाई क्षति भएको बताए। 

‘नेपालको राजनीतिमा उहाँको प्रतिवद्धता प्रजातान्त्रिक समाजवादप्रति थियो। प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तककै रुपमा हुनुहुन्थ्यो उहाँ। उहाँको राजनीति दार्शनिक ढंगको थियो। राजनीतिलाई सही दिशामा लिएर जाने, नेपालको राष्ट्रियताको संवद्र्धन र जनताको जनाधिकारलाई स्थापित गर्ने क्रममा उहाँ जिन्दगीभरि लागिरहनु भयो। नेपाली काँग्रेसको प्रभावशालि नेता हो’ उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा पनि उहाँ सबैको लोकप्रिय नेता हुनुहुन्थ्यो। कांग्रेसलाई समावेशीकरण गर्न, सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृतिलाई समान रुपमा महत्व दिनुपर्छ र स्थान दिनुपर्छ भन्नेमा उहाँको शुरुदेखि नै जोड थियो र नेपाली काँग्रेसले त्यसलाई अंगिकार पनि गरेको छ। मुलुकले पनि अंगिकार गरेको छ।’

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गिरीलाई समाजवादी विचारका चिन्तक तथा अध्ययनशिल व्यक्तित्वको रुपमा उल्लेख गरे। कम्युनिष्ट र कांग्रेस मिलेर नै देशको विकास गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए। विगतमा पञ्चायतविरुद्ध कम्युनिष्ट र कांग्रेसको एकताको पक्षमा गिरी रहेकै कारणले पनि सो आन्दोलन सफल भएको उनले स्मरण गरे। 

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले गिरी नेपाली राजनीतिको एउटा ताराको रुपमा रहेको बताए। गिरीलाई सादगी जीवन जिउने निष्ठावान राजनीतिज्ञको रुपमा अर्थ्याउनु भयो । गिरीले लोकतन्त्र र समाजवादको गहिरो व्याख्या गर्ने गरेको स्मरण गरे। 

नेपाली कांग्रेसका नेता उदय समशेर राणाले प्रदीप गिरी निःस्वार्थी नेता भएको उल्लेख गरे। कुनैपनि लोभ उनमा नरहेको भन्दै राणाले सांसद बनेर संसदमार्फत बोलि सरकारलाई दबाब दिनमात्रै उनको चाहना रहेको बताए। 

गिरिलाई पार्टी कार्यकर्ताले असाध्यै माया गर्ने गरेको र महाधिवेशनमा जिताउने गरेको पनि उनले बताए। ७५ वर्षीय गिरीको शनिवार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पताल निधन भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.