|

म्याग्दी : धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारीका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अर्ग्यानिक खेती प्रणाली सुरु गरेका छन्।

विशेषगरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि म्याग्दीमा कृषिले व्यावसायिक रूप लिनुको साथै कृषिमा प्रविधिको प्रयोग र अर्ग्यानिक खेती विस्तारको क्रम बढेको हो। 

तीन वर्ष अघिसम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने यहाँका उपभोक्ता अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन्।

‘अहिले सदरमुकाम बेनीका प्रायः सबैघरका भान्छामा स्थानीय उत्पादनका तरकारी पाक्छ’, बेनी बजारका व्यवसायी राधिका केसीले भनिन्, ‘ग्राहक स्थानीय उत्पादनको खोजीमा हुन्छन्,गाउँगाउँबाट अर्ग्यानिक तरकारी बजारमा झर्न थालेपछि आयातित तरकारीको माग घटेको छ।’ 

म्याग्दीमा पछिल्लो समय अर्ग्यानिक  कृषितर्फ युवाको पनि आकर्षण बढेको छ। विशेष गरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अर्ग्यानिक खेतीतर्फ लागेका छन्। कोरोना महामारी बढेसँगै वैदेशिक रोजगारीमा जान नपाउँदा घरमै अलमलिएका म्याग्दीका युवा कृषिमा प्रविधिको प्रयोग गरी बाँझो जमिन जोत्ने र खाद्यान्न उत्पादन बढाउन लागेका छन्।

सरकारले कृषिमा विभिन्न अनुदानका कार्यक्रम ल्याई कृषि उपकरण लगायत मल र बीउको पनि सहज व्यवस्था गर्न थालेपछि कृषि क्षेत्रमा पनि युवाको आकर्षण बढेको हो।

त्यसैगरी कृषकले पनि बजारमा अर्ग्यानिक उत्पादनको माग बढ्दै गएपछि रासायनिक विषादीको प्रयोग गर्न छाडेका छन्। करिब ३० वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५९ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो दुई वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दंग परेका छन्।

घर नजिकैको १४ रोपनी खेत र बारीमा प्रांगारिक  तरकारी खेती गर्दै आएका कार्कीले दुई वर्षअघिसम्म  कहिल्यै पनि अर्ग्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाएका थिएनन् । ‘म विगत ३० वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,’ कार्कीले भने ‘तर पछिल्ला दुई वर्षयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन।’

युवा नै खेतीपातीको काममा लागेपछि म्याग्दीको ग्रामीण जीवन र कृषि प्रणालीमा नयाँपन थपिएको स्थानीयको भनाइ छ। ‘लाहुरेहरूको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीमा पछिल्लो समय विदेश जाने कम र विदेशबाट फर्किएर गाउँमा कृषिमा लगानी गरी व्यवसायिक बन्ने युवाको संख्या बढेको छ।

खबराका कृषक शोभित शर्मा, डडुवाका भीमबहादुर भण्डारी, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी, अर्मनका टीकालाल सापकोटा, रत्नेचौरका भविलाल किसान लगायत जिल्लाका २० भन्दा बढी कृषक प्रांगारिक तरकारी खेतीमा लागेका छन्।

खबराका चन्द्रबहादुर कार्कीले २०७६ चैतदेखि २०७९ को साउनसम्म तरकारी बिक्री गरेर २८ लाखभन्दा बढी आम्दानी भएको बताए। त्यसैगरी डडुवाका मोहन भण्डारी पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको जानकारी दिए।

कोरोनापछि धेरै मानिसले अर्ग्यानिक उत्पादन खोज्न थालेको खबराका कृषक शोभित सापकोटाले बताए। अर्ग्यानिक तरकारी खरिद गर्न बेनी बजारबाट धेरै ग्राहक बारीमा नै आउन थालेका छन् । कोरोनापछि अर्ग्यानिक तरकारी खोज्दै उनको बारीमा धेरै उपभोक्ता पुग्छन् । 

म्याग्दीमा निजी क्षेत्रले करोडौँ लगानीमा कृषि फर्म सञ्चालन गरेका छन्। जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आवेबगरमा करिब १० करोडको लगानीमा सञ्चालित हरियाली कृषि फर्म र मंगला गाउँपालिकाको हिदीमा तीन करोडको लगानीमा प्रांगारिक कृषि फर्म सञ्चालित छन्। 

म्याग्दीका छ वटा स्थानीय तहमा गरी २०० भन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्गे आम्दानी गर्न थालेका कृषि प्राविधिक जगत बानियाँको अनुभव रहेको छ। बानियाँ भन्छन् ‘कोरोना कहर शुरु भएयता मानिसले अर्ग्यानिक उत्पादनको महत्त्व बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग शहर बजारमा बढी हुन थालेको छ।’

दुई वर्षअघिको तुलनामा अहिले म्याग्दीमा कृषि उपजको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। दुई वर्षअघिसम्म कुल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकोमा अहिले ८२ प्रतिशत जमिनमा खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.