सात वर्षे प्रावधानको प्रस्ताव ओलीले नै संसदमा लैजान मानेनन्

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही नभएको बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्डले गलत उद्देश्यका निम्ति गलत ढंगले प्रचार गरिएको दाबी गरे। 

‘विधेयकको सारतत्त्व भनेको आमाबाबु दुवै नेपाली भएका नागरिकले नागरिकता पाउने कुरा हो’, उनले भने, ‘त्यसकारण यसलाई राष्ट्रघात भन्नु पाखण्डबाहेक केही हुँदैन।’

केपी ओली प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश नै विधेयकका रूपमा आएको भन्दै प्रचण्डले अहिले एमालेले राष्ट्रघात भयो भन्नु बेइमानी र अनैतिक चरित्र भएको टिप्पणी गरे। वैवाहिक अंगीकृत नागरिकताका लागि ‘सात वर्षे प्रावधान’ राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँँ भन्दा ओलीले नै नमानेको उनले आरोप लगाए।

‘तत्कालीन नेकपामै हुँदा राज्य व्यवस्थाले पास गरेको प्रस्ताव मैले संसदमा लैजाउँ भन्दा नमान्ने केपी ओली र एमाले गुट नै हो’, उनले भने, ‘यति छर्लङ्ङ कुरामा पनि भ्रम छर्दै राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्ने दुस्साहसमा सचेत नेपाली नागरिक भ्रमित हुनु हुँदैन।’

राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभामा फेरि जस्ताको तस्तै पारित भएर राष्ट्रियसभामा पठाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.