|

झापा : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गरेका छन्।

कमल गाउँपालिका–५ स्थित पाडाजुँगी चोकमा सडक विभागद्वारा आयोजित शिलान्यास कार्यक्रममा उनले विदेशमा जस्तै चार लेनका चिल्ला र ठूला राजमार्ग अब नेपालमै देख्न पाइने बताए।

उनले एसियाली राजमार्गको निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थपिने र आर्थिक विकासको नयाँ नयाँ अवसर सिर्जना हुने बताए। “उत्पादन र रोजगारीसँग जोड्ने भएकाले एसियाली राजमार्गलाई नेपालले सदुपयोग गर्नुपर्छ”, उनले भने।

शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सम्झौतामा उल्लेख भएकै तीन वर्ष अवधिमा एसियाली राजमार्गको निर्माण सम्पन्न हुने बताए।

उनले राजमार्गको निर्माण विश्वस्तरीय हुने र निर्माण सम्पन्न भएको छ वर्षसम्म निर्माण कम्पनीले नै मर्मतसम्भारको जिम्मेवारी बहन गर्ने सम्झौता रहेको जानकारी दिए। भारत सरकारले पूर्वपश्चिम राजमार्गको प्रस्थानविन्दु काँकडभिट्टाको पाँच मिटरभित्रसम्म एसियाली राजमार्गको निर्माण दुई वर्षअघि नै गरिसकिएको छ भने मेची नदीमा नयाँ पुल पनि बनिसकेको छ। 

अब काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नति कार्यको सुरुआत भएको छ। ‘एएचटु’ नाम दिइएको यो अन्तरदेशीय राजमार्ग एसियाली विकास बैंकको सहयोगमा बन्ने भएको हो। 

यस आयोजनाका लागि एसियाली विकास बैंकले तीन सय मिलियन अमेरिकी डलर ऋण प्रदान गरेको छ भने नेपाल सरकारले ६२ दशमलव ४७ मिलियन अमेरिकी डलर लगानी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.